• Menu

६ महिनामा साढे ४ अर्बको अलैंची, ३ अर्बको चिया निर्यात

नेपाल प्रफिट

२०८१ माघ ८, १०:३५

६ महिनामा साढे ४ अर्बको अलैंची, ३ अर्बको चिया निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार (साउन-पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजारबराबरको चिया निर्यात भएको छ ।

सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब ९० करोड पाँच लाख ६ हजारबराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने उनको दाबी छ ।

कार्यालयको तथ्यांकअनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६.७ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजारबराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ९० करोड ५८ लाख ६ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्यांकअनुसार प्लाइउड २७.९०, सिमेन्ट क्लिंकर चार हजार एक सय ४१ र भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दा, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वीनाकामा रहेको मेची भन्सारबाट चालु आवको ६ महिनामा १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्