• Menu

तिब्बतको भूकम्पमा परि ९५ जनाको मृत्यु, १३० घाइते

नेपाल प्रफिट

२०८१ पुस २३, १५:१०

तिब्बतको भूकम्पमा परि ९५ जनाको मृत्यु, १३० घाइते

काठमाडौं । नेपाल-तिब्बत सीमानजिकै मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परि मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

मंगलबार बिहान चीनको तिब्बतस्थित सिगात्से क्षेत्रको दिङ्गी गाउँलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ९५ जनाको ज्यान गएको छ भने १३० जना घाइते भएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङले क्षति न्यूनीकरण गर्न र उद्धार कार्यका लागि जोड दिन निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले खोज तथा उद्धार कार्य र घाइतेहरूको उपचारमा अधिकतम प्रयास गर्न आदेश दिएका छन् ।

सीले भने, ‘भूकम्पको निगरानी र प्रारम्भिक चेतावनी प्रणाली सुदृढ गर्न, राहत सामग्री वितरण गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्यलाई तीव्रता दिन, र प्रभावितहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित व्यवस्थापन गर्न ‘  ।

चीनले भूकम्पबाट प्रभावित क्षेत्रमा संरचना जोगाउन र चिसो मौसममा जनतालाई सुरक्षित राख्न विभिन्न उपायहरू अपनाइरहेको छ ।

भूकम्प नेपाली समय अनुसार बिहान ६:५० बजे गएको हो । नेपालको भूकम्प मापन केन्द्रले भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जनाएको छ भने चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ म्याग्निच्युड मापन गरेको छ । यो भूकम्प जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा भएको थियो ।

भूकम्पको धक्का नेपाल, बंगलादेश, भारत र भुटानसम्म महसुस भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्