काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायालाई शनिबार कैलाली पुगेर आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन् । विदेशमा रहेका नेपालीले कमाएको पैसा नेपाल पठाउने विश्वासिलो माध्यम आइएमई बन्न पाउँदा खुसी लागेको अध्यक्ष ढकालले बताए । उनले विजेता बनेकी रोकायालाई शुभकामना दिएका छन् ।
चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना बनाएको बताइन् । गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।
विदेशमा कमाएको रकम औपचारिक माध्यम– रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरिएको थियो ।
आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम– आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।
आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।