काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले ‘लोड, पे, विन !’ नामक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत आइएमई पेका प्रयोगकर्तालाई विभिन्न माध्यमबाट सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।
मंसिर २० देखि पुस २० सम्म एक महिना चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै एक भुक्तानी गर्दा दैनिक एक जना विजेताले १ हजार रुपैयाँ बोनस रकम प्राप्त गर्न सक्नेछन् । बम्परमा तीन जना भाग्यशाली विजेताले योजना अवधिभर आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताले आइएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आइपीएस, ई/एम बैँकिङ, भिसा कार्ड र एजेन्ट्समार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन प्रयोगकर्ताले कम्तीमा १ हजार रुपैयाँ आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरुको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्छ । बम्पर विजेताहरुले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।