• Menu

उचालियो सेयर बजार, कारोबार रकममा पनि उच्च वृद्धि

नेपाल प्रफिट

२०८१ कात्तिक २५, आइतबार १५:१०

उचालियो सेयर बजार, कारोबार रकममा पनि उच्च वृद्धि

काठमाडौं । तिहारपछि बजार खुलेको तेस्रो कारोबार दिनमा सेयर बजार उच्च अंकले बढेको छ । तिहारपछिको पहिलो दुई दिन मंगलबार ०.२१ र बुधबार १.८८ अंकले घटेको बजारमा आज आइतबार ६२ अंकको उछाल आएको हो ।

नेप्से परिसूचक आइतबार ६२.५४ अंकले बढेर २७३८.०६ अंकमा उक्लिएको छ । नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक उकालो लागेको हो ।

सबैभन्दा धेरै जलविद्युत समूह ४.२६ प्रतिशतले बढेको छ । आज २२८ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटाको भने घटेको छ । ९ प्रतिशतभन्दा बढी मूल्य बढ्ने कम्पनी ९ वटा नै छन् भने ६ वटाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मोदी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज कारोबार रकम पनि उच्च दरमा बढेको छ । तिहारपछिको मंगलबार चार अर्ब २० करोड र बुधबार ५ अर्ब २२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस्