काठमाडौं । नेपालको सेयर बजार इतिहासमै सर्वाधिक मूल्यको सेयर किनबेच भएको दिन बुधबार हिमालयन रि–इन्स्योरेन्सको मात्रै ८४ करोडको सेयर कारोबार भएको छ ।
उच्च कारोबार भएसँगै कम्पनीको सेयर मूल्य ७.२८ प्रतिशत अर्थात् ५० रुपैयाँ ६० पैसाले बढेर ७४५ रुपैयाँ ९० पैसा पुगेको छ ।
नयाँ सत्ता समीकरण बन्ने अघिल्लो दिन असार १६ गते ५३९ रुपैयाँ ७० पैसा रहेको कम्पनीको सेयर मूल्य बुधबार (साउन १६) मा २०६ रुपैयाँ २० पैसा (३८ प्रतिशत)ले बढेको छ ।
हिमालयन रि-इन्स्योरेन्सको नेप्सेमा १० करोड ४० लाख कित्ता सेयर सूचीकृत छ । त्यसमध्ये ३ करोड १२ लाख कित्ता सर्वसाधारण सेयर हो ।
बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँमा कारोबार भएको हो । हालसम्म नेप्सेको इतिहासमा यति ठूलो सेयर कारोबार भएको थिएन ।
सेयर बजारले बुलिस यात्रा तय गरिरहेका बेला २०७८ साउन ३१ गते हालसम्मकै ठूलो परिमाण अर्थात् २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्से सर्वाधिक उचाइमा पुगेका दिन पनि २१ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बजार पुँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो ।
२०७८ भदौ २ गते नेप्से ३२१८.८६ विन्दुसम्म पुगेको थियो । नेपालको सेयर बजारको इतिहासमा नेप्से परिसूचकको सर्वाधिक उचाइ यही हो । कारोबार बन्द हुँदा भने नेप्से ३१९८.६ अंकमा कायम रह्यो ।
सर्वाधिक कारोबारको रेकर्ड तय हुँदै गर्दा बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९ अंकमा उक्लिएको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै वित्त समूह ८.०८ र लगानी समूह ६.८९ प्रतिशतले बढेका छन् ।