• Menu

विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित

नेपाल प्रफिट

२०८१ असार ६, बिहीबार ०९:४१

विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित

विश्वभरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लूएफओ)को सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)को मुख्यालय इटालीको रोममा भएको महासभामा पाठकसहित डब्लूएफओको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् ।

विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको डब्लूएफओमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् ।

किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको डब्लूएफओको उच्च तह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ ।

पाठक गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधारसहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय छन् । उनी धादिङको विकट गाउँबाट निरन्तर सहकारी अभियानमा संलग्न छन् ।

साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, जिल्ला संघ हुँदै साना किसान विकास बैंकको सञ्चालक समितिको सदस्य, नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षको भूमिकामा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्