• Menu

क्रिएटिभ इकोनोमीको विकासमा साझेदारी गर्न विदेशी लगानीकर्तालाई अध्यक्ष ढकालको आह्वान

नेपाल प्रफिट

२०८१ असोज ७, सोमबार १५:३०

क्रिएटिभ इकोनोमीको विकासमा साझेदारी गर्न विदेशी लगानीकर्तालाई अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकमा साना र मझौला उद्यम अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन् ।

एसियाली व्यापार प्रवर्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा उनले समावेशी समृद्धि : एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरे ।

नेपालमा साना तथा मझौला उद्योगले जीडीपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्धनमा अन्तर क्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

साना तथा मझौला उद्योगलाई क्रिएटिभ इकोनोमीसँग ठिकसँग जोडेर विकास तथा प्रवर्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावना बढेकोतर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताको ध्यानाकर्षण गराए ।

नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला र परम्परागत संगीतका वाद्ययन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

पर्यटनमार्फत पनि साना तथा मझौला उद्यमलाई प्रवर्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्तालाई आग्रह गरे । बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि उनले लगानीकर्ताको ध्यानाकर्षण गराए ।

भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सिर्जना भएको अध्यक्ष ढकालले बताए ।

लगानीको वातावरण सुधार गर्ने उद्देश्यले व्यवसाय गर्नसम्बन्धी विभिन्न कानुन परिमार्जन गरेको विदेशी लगानीकर्तालाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता फ्रेमवर्क पारित भएकाले सहज अवसरको उपयोग गर्न पनि उनले बाह्य लगानीकर्तालाई आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको र हेल्प डेस्कमार्फत विदेशी लगानीकर्तालाई नीति र प्रक्रिया बुझ्न मद्दत गरिरहेको जानकारी पनि गराए ।

प्रतिक्रिया दिनुहोस्