काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ ।
महसंघमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोसेढुंगा भएको बताए । दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफलपछि मन्त्रिपरिषदले पारित गरेको छ ।
विकसित देशहरुमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो । किनकि, व्यवसायमा नयाँ सोचहरुको प्रादुर्भाव भइरहेको र सानो-सानो लगानीमा नयाँ विचारका साथ केही व्यवसाय उदाउँदै गर्दा तिनको सञ्चालन कसरी र केका आधारमा भइरहेको छ भन्ने राज्यको चासोसँगै स्टार्ट अपको परिभाषा र त्यसको नीतिका बारेमा छलफल भए र स्टार्टअप नीति विकास गर्ने प्रक्रियाले थालनी पाउँदै रोकिँदै हालै २०८१ जेठ २ गते मन्त्रिपरिषदबाट पारित भयो ।
नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । ‘किनकि यसका लागि महासंघले अनवरत रुपमा विभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
नीति आएको खुसियालीमा महासंघले उक्त नीतिले अंगिकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमका बारेमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसालको आतिथ्यतामा बुधबार महासंघमा नीति संवाद आयोजना गरियो ।
नीति संवाद कार्यक्रमका महासंघ अध्यक्ष ढकालले स्टार्ट अपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्ट अप एन्ड इन्नोभेसन फोरम, मन्त्रालयलगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारिएर आएकाले स्टार्ट अप व्यवसायका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
त्यस्तै, सहसचिव जीवलाल भुसालले नीतिले अंगिकार गरेको स्टार्ट अपको परिभाषा र स्टार्ट अप र लघु, घरेलु तथा साना उद्योग र स्टार्ट अप उद्यमका अन्तर सम्बन्धहरु, स्टार्ट अप वर्ष २०३० र स्टार्ट अप कर्जाहरुका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रमका अन्य वक्ताहरुमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेशकुमार गुप्ता लगायत थिए ।
सबैले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा सञ्चालन कार्यविधि २०८० र अहिले कार्यान्वयन भइरहेको कर्जा वितरणको अन्तिम अवस्थाहरुका बारेमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दे महासंघका केन्द्रीय सदस्य एवं वर्तमान स्टार्ट अप एन्ड इन्नोभेसन फोरमका सभापति जूना माथेमाले नीति आउनु स्वागतयोग्य रहे पनि प्रचारप्रसार झनै महत्वपूर्ण रहेको बताइन् ।