काठमाडौं । सरकारले केही नयाँ र केही पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा सरकारले सुनकोशी र नारायणीमा सुरु गर्ने घोषणा गरेको छ । त्यस्तै शिक्षकको तलब मासिक रुपमा दिने, जग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानुन संशोधन गर्ने, सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढाउने, पहाडमा टाकुरा पर्यटन विकास गर्नेलगायतका घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको छ ।
पुँजीगत खर्च बढाउने र बन्द भएका उद्योग चलाउने घोषणा पनि सरकारले गरेको छ । सरकारको वार्षिक बजेटअघि संघीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।