• Menu

काठमाडौंसहित देशभर हावाहुरी र भीषण वर्षा : सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार १५:५३

काठमाडौंसहित देशभर हावाहुरी र भीषण वर्षा : सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिए । हावाहुरी र असिना पानी परेको समयमा सवारीसाधन नचालाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन उनले आग्रह गरे ।

विभागका अनुसार आज अपराह्नपछि नै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । विभागका प्रवक्ता विभूति पोखरेलले अपराह्नपछि भने विषेशगरी तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गरे ।

‘अहिले पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन-चट्याङसहित हल्का पानी परिरहेको छ । यो प्रणाली उत्तर-पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु जरुरी छ,’ प्रवक्ता पोखरेलले भने, ‘मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरी (करिब ५०-६० किमी-घण्टा) चल्ने सम्भावना रहेको छ । यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहनसक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आवश्यक छ ।’

प्रवक्ता पोखरेलका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।

उपत्यकामा कम प्रभाव

प्रवक्ता पोखरेलले काठमाडौं उपत्यकामा हुरीको प्रभाव भने कम रहने बताए । विशेष गरी तराईमा यसको प्रभाव बढी परे पनि आत्तिनुपर्ने अवस्था नभएको तर सर्तकता अपनाउन आवश्यक भएको उनको भनाइ छ ।

प्रवक्ता पोखरेलले हुरी चलिरहेको समयमा घरबाहिर ननिस्कन सुझाव दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर-संरचना भएभित्र गइहाल्नुपर्छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारीसाधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र बिजुलीका तारमा जोखिम हुनसक्ने भएकाले विद्युत उपकरण नचलाउनसमेत उनको अनुरोध छ ।

सुरक्षित ओत नभेटे टाउको दुवै घुँडाको बीचमा राखेर दुवै हातले खुट्टा समाउने र खुट्टाको पञ्जाले भुइँमा टेकेर दुवै कुर्कुच्चा जोडेर टुक्रुक्क बसी निहुरेर शरीरलाई जतिसक्दो सानो बनाई कान थुनेर बस्न प्राधिकरणले सुझाव दिएको छ ।

समूहमा भए सबै जना छुट्टिएर टाढाटाढा बस्ने, यसो गर्दा धेरैजना हताहत हुनबाट जोगिन सकिन्छ । खुला क्षेत्र वा जंगलमा भए सम्भव भएसम्म होचो स्थान वा खोँचमा गएर बस्नुपर्छ ।

उपसचिव केसीले रुख वा बिजुली र फोनका खम्बामुनि वा टावर नजिक नबस्ने, छाता नओढ्ने, खेतबारीमा काम गरिरहेको भए बन्द गर्ने, खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्किन सुझाव दिए । माछा मार्ने कार्य तथा र्‍याफ्टिङ नगर्ने, बिजुली र फोनको अग्लो खम्बा, अग्लो भवन, ठूलो रुख नजिक नबस्न, साइकल वा मोटरसाइकलमा भए तुरुन्त छेउ लगाई उत्रने तथा धातुको कुनै पनि वस्तु, सवारीसाधन वा उपकरण नछुन उनले सुझाव दिए ।

आइतबारदेखि मौसम खुल्ने

जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले तीन दिन देशभर बदली, वर्षा र हिमपातको प्रभावस केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशभर आगामी तीन दिनसम्म बदलीसँगै वर्षा, हिमपात तथा चट्याङ्गको प्रभाव रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षा हुने सम्भावना छ ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कोशी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यीमध्ये कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुनसक्ने चेतावनी दिइएको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार शुक्रबार राति मौसम अझ सक्रिय हुने देखिएको छ । कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाग्मती प्रदेश र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

शनिबार दिउँसो पनि देशभर बदली कायम रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार राति भने मौसम केही सुधार हुँदै हल्का वर्षामात्र सीमित स्थानमा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने संकेत देखिएको छ । पहाडी र हिमाली भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ । केही स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको बुलेटिमा उल्लेख छ । राति पनि अधिकांश स्थानमा आंशिक बदली रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने माहाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्