• Menu

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको लर्को : ११ महिनामा १ लाख ६८ हजारभन्दा बढी पर्यटक भित्रिए

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार १४:२७

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको लर्को : ११ महिनामा १ लाख ६८ हजारभन्दा बढी पर्यटक भित्रिए

चितवन । गत वर्षको तुलनामा यो वर्ष राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ ।  चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने  यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक  आएका थिए । यो संख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए । गत वर्ष यो संख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो ।

निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्जले चालु आवमा १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व संकलन गरेको छ ।

काठ दाउरा बिक्रीबापत ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट सात लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रकम राजस्व संकलन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्