
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । नेप्से परिसूचक ६४.६९ अंकले बढ्दै २८७७ अंकमा उक्लिएको छ । कारोबार सुरु भए लगतै बजार निरन्तर उकालो लागेको देखिएको हो ।
परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोड पुगेको छ । यसअघि फागुन २६ गते २१ अर्ब ५० करोड कारोबार भएको थियो भने २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड कायम छ ।
आज कुल २४० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने २ कम्पनी स्थिर रहेका छन् । सबै समूहका सूचकहरू हरियालीमा देखिएका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशतले उकालो लागेको छ । त्यस्तै बैंकिङ ३.१६, हाइड्रोपावर २.२९, जीवन बिमा २.७६, वित्त १.९४, होटल तथा पर्यटन १.७५ प्रतिशतले वृद्धि भएका छन् ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै सान्जेन जलविद्युत, माथिल्लो तामाकोशी, एनआईसी एसिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।
यता, माहुली लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशतले घटेको छ । कारोबारका आधारमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् र माथिल्लो तामाकोशी अग्रस्थानमा रहेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal