• Menu

काठमाडौं महानगर र प्रसूति गृहसहित तीन स्वास्थ्य संस्थाबीच सहकार्य सम्झौता

नेपाल प्रफिट

२०८२ चैत ५, १४:४१

काठमाडौं महानगर र प्रसूति गृहसहित तीन स्वास्थ्य संस्थाबीच सहकार्य सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा तथा सामुदायिक सहयोगलाई थप प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य सम्झौता गरेको छ । बिहीबार थापाथलीस्थित परोपकार तथा प्रसूति गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँग उक्त सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहर व्यवस्थापन र स्वास्थ्य प्रवर्धनका कार्यलाई व्यवस्थित बनाउन सहकार्य महत्त्वपूर्ण हुने बताइन् । उनका अनुसार काठमाडौंमा स्थान अभाव ठूलो चुनौती रहेकाले प्रसूति गृहसँगको सहकार्यले स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा सहजता ल्याउनेछ ।

उनले स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग समेत समन्वय भइरहेको जानकारी दिइन् । साथै, पछिल्लो समय विद्यार्थीहरूमा बढ्दो आँखासम्बन्धी समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले मोबाइल प्रयोगको बढ्दो प्रवृत्तिले असर पारिरहेको उल्लेख गरिन् । नेपाल आँखा अस्पतालसँगको सहकार्यबाट करिब २० हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कार्यवाहक प्रमुख डंगोलले जनशक्ति अभाव भए पनि आवश्यकताअनुसार थप कर्मचारी परिचालन गरेर सेवा प्रभावकारी बनाइने स्पष्ट पारिन् । उनले स्वास्थ्य सेवा र व्यवस्थापनलाई प्राथमिकतामा राखेर तीव्र गतिमा काम अघि बढाइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्