
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्ञ्चालक समितिबाट लिमा अधिकारीले राजीनामा दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले बैंक सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् ।
उनी बैंक सञ्चालक समितिमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन् । देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्धन गर्ने गरिमामय संस्थासँग आबद्ध हुन पाउनु महत्वपूर्ण उपलब्धि भएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
‘नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि आगामी दिनमा पहल गर्नेछु,’ उनले लेखेकी छन् । ५१ वर्षीया अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन् । रास्वपा आउनुअघि उनी तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीमा थिइन् ।
अघिल्लो चुनावमा नेकपा एसले उनलाई समानुपातिकको बन्दसूचीमा राखेका थियो । तर, पार्टीले समानुपातिकको थ्रेस होल्ड नै कटाउन सकेन । यसपटक उनी रास्वपाको खस आर्यबाट माथिल्लो सूचीमा थिइन् । लिमा एमालेका स्वर्गीय नेता भरतमोहन अधिकारीकी छोरी हुन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal