
एजेन्सी । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय संकट झन् गहिरिँदै गएको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० भन्दा बढी एम्बुलेन्स तथा स्वास्थ्य सेवा सवारी साधन क्षतिग्रस्त वा नष्ट भएका छन् । साथै केही स्वास्थ्यकर्मीको मृत्यु र घाइते भएको पनि जनाइएको छ ।
यसैबीच, लेबनानमा दुई साताको अवधिमा स्वास्थ्य सेवामाथि २८ वटा आक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ती घटनामा ३० जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूले प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइरहेका छन् । विश्व खाद्य कार्यक्रम, शरणार्थीसम्बन्धी एजेन्सी र बाल कोषलगायत संस्थाले ८ लाखभन्दा बढी तातो खाना वितरण गरेका छन् । साथै कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ ।
लेबनानको दक्षिणी क्षेत्रमा ठूलो संख्यामा मानिस विस्थापित भइरहेका छन् । सरकारी तथ्यांक अनुसार ८ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख ९० हजार बालबालिका छन् ।
गाजामा पनि मानवीय अवस्था अत्यन्तै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । धुलोको आँधीका कारण सयौँ आश्रयस्थलमा क्षति पुगेको छ भने हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।
खाद्य आपूर्ति अवरुद्ध हुँदा गाजामा धेरै परिवारले खाना पकाउन फोहोर जलाउन बाध्य भएको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal