• Menu

युद्ध छिट्टै अन्त्य हुन्छ तर यो साता सकिँदैन : ट्रम्प

नेपाल प्रफिट

२०८२ चैत ३, १५:३९

युद्ध छिट्टै अन्त्य हुन्छ तर यो साता सकिँदैन : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी-इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताए  यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी दोहोर्‍याएका छन् ।

ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ,’  उनले भने, ‘धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।’

ट्रम्पले चाँडै नै होर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजहरूको सुरक्षा गर्न प्रस्ताव गरिएको अमेरिकी गठबन्धनमा सामेल हुन सहमत भएका देशहरूको नाम घोषणा गर्ने पनि बताए । उक्त समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।

तर अमेरिकी प्रस्तावित सुरक्षा गठबन्धनमा धेरै अमेरिकी सहयोगी देशहरूले स्पष्ट समर्थन जनाएका छैनन् वा सहभागी हुन अस्वीकार गरेका देखिन्छन् । ट्रम्पले युरोपेली सहयोगीहरूको यस विषयमा देखिएको अनिच्छाप्रति आलोचना समेत गरे ।

यसैबीच, युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा रुचि नभएको बताइन् । उनले यो युरोपको युद्ध नभए पनि यसको प्रभाव युरोपका हितसँग जोडिएको उल्लेख गरिन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए । त्यसयता द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको, तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्