• Menu

इनिशा बिक हत्या प्रकरण : अनुसन्धान अन्तिम चरणमा, फरेन्सिक रिपोर्ट र पोलिग्राफ परीक्षणको प्रतीक्षा

नेपाल प्रफिट

२०८२ चैत ३, १२:०६

इनिशा बिक हत्या प्रकरण : अनुसन्धान अन्तिम चरणमा, फरेन्सिक रिपोर्ट र पोलिग्राफ परीक्षणको प्रतीक्षा

सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । घटनासँग सम्बन्धित अभियुक्तहरूको बयान सकिएको छ भने अब फरेन्सिक रिपोर्टको प्रतीक्षा भइरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका नाबालकसहित सबै व्यक्तिहरूको बयान लिइसकिएको छ । एक नाबालकले इनिशासँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र घटना दिन शारीरिक सम्बन्धपछि अत्यधिक रक्तस्राव हुँदा उनी बेहोस भएको दाबी गरेको छ । सोही बयानअनुसार उनले साथीहरूको सहयोगमा उनलाई अस्पताल लैजान खोजिएको उल्लेख गरिएको छ ।

प्रहरीले सिसिटिभी फुटेजमा बिहान करिब ६ बजे इनिशा र एक १६ वर्षीय किशोर मात्रै सँगै गएको देखिएको जनाएको छ । घटनाबारे थप सत्यता पत्ता लगाउन पोलिग्राफ परीक्षणका लागि नेपालगन्जबाट टोलीसमेत खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढाथापाका अनुसार अनुसन्धानका अधिकांश पाटा पूरा भइसकेका छन्, तर निष्कर्षमा पुग्न फरेन्सिक रिपोर्ट आवश्यक रहेको छ । ‘रिपोर्ट प्राप्त भएपछि मात्रै घटनाको यथार्थ निष्कर्षमा पुग्न सकिन्छ,’ उनले भने।

प्रहरीले घटनाको सूक्ष्म र वैज्ञानिक ढंगले अनुसन्धान भइरहेको दाबी गरेको छ। यता, पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।

प्रारम्भिक अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलनमा जुटेको छ । पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा १६ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

फागुन २३ गते इनिशा वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । गुर्भाकोट घर भएकी उनी वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्