• Menu

ग्लोबल मनी विक २०२६ : नबिल बैंकद्वारा टंगाल माविका विद्यार्थीलाई वित्तीय साक्षरता प्रशिक्षण

नेपाल प्रफिट

२०८२ चैत ३, ११:१६

ग्लोबल मनी विक २०२६ : नबिल बैंकद्वारा टंगाल माविका विद्यार्थीलाई वित्तीय साक्षरता प्रशिक्षण

काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसरमा नबिल बैंक मालिगाउँ शाखाले श्री टंगाल माध्यमिक विद्यालय अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीका लागि वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४०  भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

बालबालिका तथा किशोरकिशोरीमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नबिल बैंकले हरेक वर्ष ग्लोबल मनी विकको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रममा बैंकिङ साक्षरतासम्बन्धी प्रस्तुति मालिगाउँ शाखा प्रमुख उत्सव श्रेष्ठले दिएका थिए । शाखाका तर्फबाट सम्बन्ध अधिकृत कृपा दाहाल र सञ्चालन इन्चार्ज कोपिला लामिछानेको उपस्थिति थियो । उनीहरुले विद्यार्थीलाई बचतको महत्व, बैंकिङ प्रणालीको प्रयोग, डिजिटल भुक्तानी तथा सुरक्षित वित्तीय व्यवहारबारे जानकारी गराएका थिए ।

कार्यक्रमका वक्ताहरूले आधुनिक समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट तथा अनलाइन कारोबारको प्रयोग बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान आवश्यक रहेको बताए । साथै, विद्यार्थीलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे पनि जानकारी दिइएको छ ।

सहभागीले वित्तीय साक्षरताले भविष्यमा सही आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नबिल बैंकका अनुसार समुदायमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्