• Menu

रूसको राजधानी मस्कोमा नेपालको पर्यटन प्रवर्धन : एमआईटीटी २०२६ मा १६ हजारले गरे अवलोकन

नेपाल प्रफिट

२०८२ चैत २, ११:४३

रूसको राजधानी मस्कोमा नेपालको पर्यटन प्रवर्धन : एमआईटीटी २०२६ मा १६ हजारले गरे अवलोकन

काठमाडौं । हिमाल, संस्कृति र साहसिक यात्राको अद्वितीय संगमका रूपमा चिनिने नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा उपस्थिति थप सुदृढ बनाइरहेको छ । नेपाल पर्यटन बोर्डले रूसको राजधानी मस्कोमा आयोजित प्रतिष्ठित पर्यटन मेला मस्को इन्टरनेस‍नल ट्राभल एण्ड टुरिजम् एक्जिविसन (एमआईटीटी) २०२६ नेपालको विविध पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गरेको हो ।

मस्कोस्थित क्रोकस एक्स्पो सेन्टरमा मार्च ११ देखि १३ सम्म ३२ औँ संस्करणका रूपमा आयोजित एमआईटीटी-२०२६ मा ३० भन्दा बढी देशका पर्यटन गन्तव्य, सेवाप्रदायक र पर्यटन व्यवसायी सहभागी भएका थिए । तीन दिनसम्म सञ्चालन भएको मेलामा करिब १६ हजारभन्दा बढी आगन्तुकले अवलोकन गरेको अनुमान गरिएको जनाइएको छ ।

प्रदर्शनीमा पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको पर्यटन अनुभवलाई समग्र रूपमा प्रस्तुत गरेको बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले जानकारी दिएका छन् । उनका अनुसार सात निजी क्षेत्रका ट्राभल तथा टुर कम्पनीहरूसहित सहभागी भएको बोर्ड नेतृत्वको टोलीले हिमालयन साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहण, बौद्ध तथा हिन्दू धार्मिक पर्यटन, प्रकृति-आधारित अनुभव र सांस्कृतिक विविधतालाई प्रस्तुत गरेको छ ।

प्रदर्शनीमा राखिएको नेपाल पेभेलियनमा नेपालबारे जानकारी लिन आउने आगन्तुकलाई हिमालयको अनुपम सौन्दर्य, लुम्बिनीको आध्यात्मिक शान्ति, साहसिक पदयात्रा मार्गहरू तथा नेपाली संस्कृतिको विविधताबारे विस्तृत जानकारी दिइएको थियो । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व पर्यटन बोर्डका कार्यसमिति सदस्य तथा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए । प्रतिनिधिमण्डलमा बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत भट्ट सहभागी थिए ।

मेलाको अवसरमा रूसी तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसँग छलफल तथा अन्तक्र्रियाका क्रममा प्रतिनिधिमण्डलले नेपाललाई सुरक्षित, विविधतायुक्त र अविस्मरणीय पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलका प्रमुख तिवारीले एमआईटीटी जस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरू नेपालको पर्यटन प्रवर्धनका लागि अत्यन्त महत्वपूर्ण भएको बताए ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक पन्तले रूसी बजारलाई नेपालको उदीयमान पर्यटन बजारका रूपमा उल्लेख गरे । ‘नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र आध्यात्मिक अनुभवले भरिएको गन्तव्य हो । रूसी पर्यटक नयाँ र अनौठो गन्तव्यको खोजीमा रहने भएकाले नेपालको पर्यटन अनुभव उनीहरूका लागि अत्यन्त आकर्षक हुन सक्छ,’ उनले भने ।

प्रदर्शनीमा निजी क्षेत्रका पर्यटन व्यवसायीले एमआईटीटी २०२६ रूसी बजारसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रभावकारी अवसर बनेको प्रतिक्रिया दिएका छन् । यसैबीच, रूसस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत महेश्‍वरमणि त्रिपाठीले नेपाली पेभेलियनको अवलोकन गर्दै कार्यक्रमलाई सफल बनाउन सहजीकरण गर्नुका साथै नेपाल र रूसबीचको पर्यटन सहकार्यलाई अझ विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू महत्वपूर्ण हुने बताए ।

यस वर्ष नेपाल र रूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । यही ऐतिहासिक सन्दर्भमा एमआईटीटी २०२६ नेपालको सहभागिताले दुई देशबीच पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने बोर्डका वरिष्ठ अधिकृतले बताएका छन् । पर्यटन तथ्यांकअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने रूसी पर्यटकको संख्या १५ हजारभन्दा बढी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्