• Menu

ग्लोबल मनि विक २०२६ : ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता चलाउने

नेपाल प्रफिट

२०८२ चैत २, ११:१४

ग्लोबल मनि विक २०२६ : ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता चलाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।

बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसात् गरी मार्च १६ देखि मार्च २२ सम्म बैंकका विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ । साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आधिकारिक सामाजिक सञ्जालहरुमार्फत पनि प्रसारण गर्नेछ ।

वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन् । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्