
नुवाकोट । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकिएको छ ।
बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।
विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौंबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी दिए । उनले भने, ‘पटक-पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।’
यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।
नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal