• Menu

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण

नेपाल प्रफिट

२०८२ फागुन २९, शुक्रबार ११:३०

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई पदभार हस्तान्तरण गरेका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा नयाँ नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताअनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण सदस्य व्यवसायीको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।

बैठकका क्रममा उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्