• Menu

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

नेपाल प्रफिट

२०८२ फागुन २७, बुधबार २०:३५

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ । यो अवधिसम्ममा मुलुकको चालु खाता र शोधनान्तर उच्च बचतमा छ भने १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता चार खर्ब ९३ अर्ब ७८ करोडले बचतमा छ । २०८१ माघसम्म चालु खाता एक खर्ब ८४ अर्ब १४ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको माघसम्म एक अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता २०८२ माघमा तीन अर्ब ४७ करोडले बचतमा रहेको छ ।

त्यस्तै गत माघ मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ छ । गत वर्ष माघमा यस्तो ट्रान्सफर पाँच अर्ब ८३ करोड थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्ष माघसम्ममा प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब ४३ करोड थियो ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति पाँच खर्ब ७२ अर्ब ७३ करोडले बचतमा छ । गत वर्ष माघसम्म शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो ।

असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिनामा २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब दुई अर्ब ६६ करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई तीन खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ ।

गत माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत छ । चालु आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्