• Menu

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

नेपाल प्रफिट

२०८२ फागुन २७, बुधबार १७:१५

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

कास्की । कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ ।

कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो । तीन वर्ष अघि मौरीपालनका लागि नमूना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिकाभित्रका कृषककका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उनले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको जानकारी दिए ।

उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उनले घरघरबाटै मह बिक्री हुने गरेको बताए । मौरी पालनसँगै गाउँपालिकाभित्र करिब ७०० जना स्वरोजगार बनेको उनको भनाइ छ ।

उनका अनुसार विशेषतः मौरीपालनमा रुपा १ देउपुर बेसी, रुपा २ को सिर्कुतान, वडा नं ३ को छापपाखा, वडा नं ४ को माउ डाँडा, रुपा ५ को देउराली-देउराली फेदी, रुपा ६ को भिरचोक-खोलाको छेउ र रुपा ७ को काउरे-हंशपुर-माझठानालगायतका स्थानमा मौरीपालनतर्फको आकर्षण बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्