
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऐतिहासिक उत्साह देखियो । कारोबार सुरु भएपछि लगातार तीन पटकसम्म सकारात्मक सर्किट लाग्यो । यससँगै सोमबारका लागि कारोबार पनि बन्द भयो । कारोबार शुरु भएको एक घण्टा भित्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ । यो अवधिमा करिब ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारको यो वृद्धि अर्थतन्त्रमा भएको सुधार, कम्पनीहरुको नाफामा उच्च वृद्धि, ब्याजदर वा प्राविधिक चालको कारणले भएको भने होइन । यो त नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको निर्वाचन परिणामको प्रतिबिम्ब हो ।
चुनावी परिणाम र बजार मनोविज्ञान
प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट बहुमत (दुई तिहाई नजिक) प्राप्त गरेपछि लगानीकर्ताको मनोविज्ञान एकाएक सकारात्मक बनेको छ । नेपालको सेयर बजारमा राजनीतिक स्थिरता सधैं महत्वपूर्ण कारक बन्ने गरेको छ । विगतमा पटक पटक हुने सरकार परिवर्तन, गठबन्धनको अनिश्चितता, नीति अस्थिरता र निर्णय प्रक्रियामा ढिलाइका कारण बजारमा निराशा देखिने गरेको थियो ।
तर अहिले स्पष्ट बहुमतसहित एकल सरकार बन्ने सम्भावनाले नीति निर्माण छिटो हुने, आर्थिक सुधारका कार्यक्रम अघि बढ्ने र दीर्घकालीन योजना कार्यान्वयनमा सहजता आउने अपेक्षा गरिएको छ । यही अपेक्षाको प्रतिक्रिया सेयरबजारमा देखिएको विश्लेषण गर्न सकिन्छ । स्थिर सरकारले उत्पादन बढाइ आर्थिक गतिविधि वृद्धिमा छिटो काम गर्न सक्ने हुन्छ । निर्वाचन परिणामले अब त्यो सम्भव देखिएको छ ।
स्थिर सरकारको आर्थिक अर्थ
एउटै दलको स्पष्ट बहुमतको सरकार बनेपछि अर्थतन्त्रमा केही महत्वपूर्ण परिवर्तन हुने अपेक्षा छ । विश्वमा स्थिर सरकार भएका देशहरुमा विकासको काम छिटो भएका छन् । आर्थिक नीतिहरु छिटो बन्ने भएकाले आर्थिक स्थिरताको अवस्था बन्ने र देशमा लगानीको वातावरण निर्माण हुँदै जाने हुन्छ । स्थिर सरकार हुँदा अर्थतन्त्रमा कसरी फाइदा पुग्न सक्छ तीन बुँदामा हेरौं ।
पहिलो, आर्थिक नीति स्थिरता बढ्ने सम्भावना हुन्छ । लगानीकर्ताले नीतिगत अनिश्चितताभन्दा स्थिर वातावरण खोज्छन् । दोस्रो, विकास बजेटको प्रभावकारी कार्यान्वयन हुन्छ । राजनीतिक अस्थिरताका कारण धेरै आयोजना ढिलाइ हुने गरेको सन्दर्भमा बलियो सरकारको उपस्थितिले पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन र औद्योगिक क्षेत्रमा गति आउन सक्छ ।
तेस्रो, निजी क्षेत्रको आत्मविश्वास बढ्छ । जब सरकार दीर्घकालीन रूपमा टिक्छ, निजी क्षेत्रले पनि दीर्घकालीन लगानी योजना बनाउन थाल्छन ।
सेयरबजारमा तुरुन्तै किन देखिन्छ प्रतिक्रिया ?
सेयर बजार भविष्यको अपेक्षामा चल्ने बजार हो । अहिलेको आर्थिक अवस्थाभन्दा आगामी सम्भावनालाई लगानीकर्ताले मूल्यांकन गर्छन् । यो भन्नुको अर्थ आफूले लगानी गरेको कम्पनीले भविश्यमा राम्रो प्रतिफल दिन सक्छ भन्ने हो । त्यसैले राजनीतिक परिवर्तन वा चुनावी परिणामले तत्काल बजारमा प्रतिक्रिया देखिन्छ ।
रास्वपाको बहुमतको सरकार बन्ने निश्चित भएपछि लगानीकर्ताले सम्भावित आर्थिक सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारको अपेक्षा गरेका छन् । रास्वपामा रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले लगायतका व्यक्तिहरु आर्थिक नीति निर्माणमा सक्रिय हुने र जसले देशलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा पनि लगानीकर्तामा छ । नयाँ राजनीतिक शक्तिले पुरानो राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउने आशा पनि छ । जसले बजारलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको देखिन्छ ।
सम्भावित क्षेत्रगत प्रभाव
यदि राजनीतिक स्थिरता कायम रह्यो भने केही क्षेत्रहरूमा विशेष प्रभाव देखिन सक्छ । बैंक तथा वित्तीय क्षेत्रः आर्थिक गतिविधि बढ्दा कर्जा प्रवाह बढ्ने सम्भावना हुन्छ ।
जलविद्युतः ऊर्जा निर्यात र लगानी बढ्ने हुन्छ । स्थिर सरकार हुँदा लगनीकर्तामा विश्वास बढेर जाने भएकाले लगानी बढ्ने र यसबाट उत्पादित वस्तु निर्यात हुन सक्दा अर्थतन्त्रमा फाइदा पुग्छ ।
पूर्वाधार तथा निर्माणः सरकारी परियोजना र निजी लगानी दुवै बढ्न सक्छ । पर्यटन र वैदेशिक लगानीः स्थिर राजनीतिक वातावरणले विदेशी पर्यटक र लगानी आकर्षित गर्न सक्छ ।
सावधानी अपनाउन आवश्यक
सरकार परिवर्तन हुँदा बजारमा सकारात्मक माहोल बनेको अहिले पहिलो पटक भने होइन । विगतमा पनि सरकार परिवर्तन हुँदा र सेयरबजारलाई सकारात्मक रुपमा लिने व्यक्ति अर्थमन्त्री बन्दा बजारमा उत्साह देखिएको थियो । तर अपेक्षित आर्थिक गतिविधि हुन नसक्दा छोटो समयमै बजार निराशामा परिणत भएको थियो ।
अहिले पनि बजारमा देखिएको यो उत्साह दीर्घकालीन रूपमा टिकिरहन्छ भन्ने निश्चित छैन । सेयर बजारले भावनात्मक प्रतिक्रिया पनि दिन सक्छ । यदि अपेक्षा अनुसार नीति सुधार, आर्थिक कार्यक्रम र सुशासन कार्यान्वयन भएन भने बजार फेरि सुधार (करेक्सन) तर्फ जान पनि सक्छ ।
नेपालको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स, आयातमा निर्भरता, उत्पादनशील क्षेत्र कमजोर रहनु, बेरोजगारी दर बढेर जानु र बजार निर्माण गर्न नसक्नु जस्ता संरचनात्मक समस्यासँग जुधिरहेको छ । त्यसैले राजनीतिक परिवर्तन मात्रले सबै समस्या समाधान गर्ने छैन, वास्तविक सुधार नीतिगत र संस्थागत स्तरमै हुनुपर्नेछ । त्यो काम रास्वपाको स्थिर सरकारले गर्न सक्नुपर्छ ।
अन्त्यमा सोमबार नेप्सेमा लागेको सकारात्मक सर्किट केवल सेयर बजारको घटना मात्र होइन, नेपालको राजनीतिक परिवर्तनप्रति लगानीकर्ताको आशा र अपेक्षाको प्रतिबिम्ब हो ।
रास्वपाको स्पष्ट बहुमतले स्थिर सरकारको संकेत दिएको छ, जसबाट आर्थिक सुधार र विकासको नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । यद्यपी रास्वपा नयाँ दल हो र यसले छोटो समयमै ठूलो जिम्मेवारी पाएको छ । त्यसैले, अबको मुख्य प्रश्न भनेको-रास्वपाले यो राजनीतिक उत्साहलाई आर्थिक समृद्धिमा कसरी रूपान्तरण गर्छ भन्ने हो ।
यदि सरकारले सुशासन, नीतिगत स्थिरता र लगानीमैत्री वातावरण निर्माण गर्न सफल भयो भने अहिलेको सेयर बजारको उत्साह दीर्घकालीन आर्थिक वृद्धिको सुरुवात पनि हुन सक्छ । यदि भएन भने फेरि ठूलो करेक्सन आउने र लगानीकर्ताको मनोबलमा धक्का लाग्न सक्छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal