
बैतडी । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा ७ जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो ।
खसेको सदर मतको १० प्रतिशत कटाउन नसक्ने एक स्वतन्त्रसहित सात जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुँवरले २९९, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालले समान ९४-९४, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए । उनीहरूको सबैको जमानत जफत गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।
आइतबार सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए । तीमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरुको जमानत जफत गरिएको उनले जानकारी दिए ।
आइतबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal