काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका बालेनले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको खर्चको विस्तृत विवरण आयोगमा पेश गरेका हुन् । सो निर्वाचनमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै विजय हासिल गरेका थिए ।
आयोगमा बुझाइएको विवरण अनुसार बालेनले चुनावी अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ । खर्च विवरणमा घरदैलो तथा प्रचार अभियानमा सबैभन्दा बढी रकम खर्च भएको देखिएको छ ।
उनका अनुसार १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो कार्यक्रममा करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै दुई वटा सवारीसाधन भाडा तथा इन्धनका लागि २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
यस्तै पाँच पटक गरिएको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । मतदाता प्रशिक्षण कार्यक्रममा खाजाका लागि २८ हजार ९७० रुपैयाँ तथा नमुना मतपत्र छपाइका लागि ४९ हजार ८५० रुपैयाँ खर्च गरिएको जनाइएको छ ।
त्यसैगरी निर्वाचन कार्यालय सञ्चालनका क्रममा दुई महिनामा पानीका लागि १ लाख २० हजार रुपैयाँ र स्टेशनरी सामग्रीका लागि २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
प्रचारप्रसारका लागि कागज, ब्यानर तथा स्टिकर छपाइमा करिब ३ लाख ५६ हजार रुपैयाँ खर्च गरिएको छ भने मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
उक्त खर्च विवरण उम्मेदवारका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी २०८२ फागुन २४ गते जिल्ला निर्वाचन कार्यालयमा दर्ता गराएका छन् ।