• Menu

जनताको आशा र भरोसा खेर जान दिन्नौँ, देश रूपान्तरणको अभियानमा छौँ : नवनिर्वाचित सांसद खनाल

नेपाल प्रफिट

२०८२ फागुन २५, १३:०६

जनताको आशा र भरोसा खेर जान दिन्नौँ, देश रूपान्तरणको अभियानमा छौँ : नवनिर्वाचित सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाल आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं ६ अन्तर्गत तारकेश्वर नगरपालिका-९ मा आज आयोजित ‘टोलटोलमा सांसद कार्यक्रम’मा बोल्दै उनले सुशासन, रोजगारी आफूहरूको प्राथमिकता भएको बताएका हुन् ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका नेता खनालले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले स्थानीय तहसँग मिलेर जनताको समस्याको समाधानमा आफू निरन्तर खटिने बताए ।

काठमाडौं क्षेत्र नं ६ मा खानेपानीको समस्या रहेकाले यसलाई पूरा गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गरे । सार्वजनिक सरोकारका विषयलाई निरन्तर संसद्मा पुर्‍याउने उनको भनाइ छ ।

उनले आगामी पाँच वर्ष देश रूपान्तरण गर्नका लागि जनताले रास्वपालाई ठूलो आशा र भरोसा दिएको भन्दै देश रूपान्तरणको अभियानलाई खेर नफाल्ने स्पष्ट पारे । उनले काठमाडौं क्षेत्र नं ६ मा देखिएका समस्या समाधानका लागि आफू जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने बताए ।

प्रतिक्रिया दिनुहोस्