रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्रमा स्थगित गरिएको मतदान अब अर्को मितिमा गरिने भएको छ।
मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपछि उत्पन्न तनावका कारण मतदान रोकिएको थियो। स्थगित मतदान पुनः सञ्चालन गर्न नयाँ मिति निर्धारणका लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन् ।
नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेको आरोप लगाएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिले विरोध जनाएका थिए । त्यसपछि मतदान केन्द्रको अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।
प्रहरीका अनुसार केही व्यक्तिले मतपत्रको ठेली बोकेर हिँडेको देखिएको थियो । सो क्रममा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ तथा नेकपाका नेता अर्जुन योगी लगायत संलग्न रहेको बताइएको छ ।
घटनामा संलग्नमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा रहेका अन्य चार जनालाई भने सोधपुछपछि रिहा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यता, कांग्रेस र नेकपाले भने पक्राउ परेका सबैलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal