• Menu

चुनावी उत्साह : ‘पहिला मतदान, अनि मात्र घरधन्दा’

नेपाल प्रफिट

२०८२ फागुन २१, १५:०९

चुनावी उत्साह : ‘पहिला मतदान, अनि मात्र घरधन्दा’

काठमाडौं । बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो ।

आज भने उनले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किइन् । ‘पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,’ उनले भनिन्, ‘यो हाम्रो लागि उत्सव हो । हाम्रो अधिकार हो उत्सवमा ढिलाइ गर्नु हुँदैन ।‘

सीता जस्तै मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । उनीहरूले पहिला भोट अनि अरू काम गर्ने भन्ने धारणाका साथ भोट हाल्न आएको बताइन् ।

पोखराकी अनिता मानन्धरले मतदान गर्नकै लागि माइत बानेश्वर आएको बताइन् । विगतमा भन्दा यस पटकको निर्वाचन उनका लागि विशेष चासो रहेको बताइन् । ‘त्यसैले पोखराबाट यहाँ आएँ,’ उनले भनिन्, ‘जेनजी प्रदर्शनपछिको रानजीतिक मुहार जो परिवर्तन गर्नुछ ।’

रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा पर्यवेक्षकका रूपमा खटिएका हरिओम महेताले यस बुथमा बिहान ७:०५ बजे ९३ वर्षीया कौशिला तिमल्सिनाले ‘ख’ केन्द्रमा मतदान गरेसँगै मतदान प्रक्रिया सुरु भएको जानकारी दिइन् । मत खसालेपछि फर्किने क्रममा उनलाई असहज भएपछि सुरक्षाका लागि राखिएको डोरी काटेर सजिलो बनाइएको उनले बताइन् ।

‘वृद्धवृद्धालाई केही समस्या भएपछि बाटो परिवर्तन गरेर सजिलो बनाउने गरेका छौँ,’ उनले भनिन्, ‘समग्रहमा मतदान शान्त र व्यवस्थित हुँदै गएको छ । महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताले सहज रूपमा मत खाल्न पाउनुभएको छ ।’

डिल्लीबजारस्थित पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्रमा मत खसाल्न आएकी धनु राईले पहिलोपटक आफूले मतदान गरेको बताइन् । विदेशमा रहेका श्रीमान्ले आफूले मत खसाल्न नपाए पनि श्रीमतीले मतदान दिन आग्रह गरेको उनले बताइन् । मत खसालेपछि औँलामा नीलो रङ लगाइएको तस्बिर खिचेर श्रीमान्लाई ह्वाट्स एपमा पठाएको उनले सुनाइन् ।

यति मात्रै होइन मतदाताहरूसँग स्थलगत रिपोर्टिङ गर्ने क्रममा बुझ्दै जाँदा महिलाले भोट हाल्नुले मतको अधिकार प्रयोग हुनाका साथै मताधिकार प्रयोग गरेकामा परिवारका अरू सदस्य पनि खुसी भएका प्रतिक्रिया दिएका छन् ।

शङ्खमूलस्थित स्वप्नवाटिका स्कुलमा मतदान दिन आएकी प्रतीक्षा श्रेष्ठले मत खसाल्नका लागि गोर्खाबाट काठमाडौं आएको बताइन् । सही नेतृत्व चयन गर्ने अधिकार गुमाउन नदिनका लागि उनी काठमाडौं आउनुभएको हो । पेसाले शिक्षक भएकी उनले भनिन्, ‘हाम्रो एक मतले देश बन्छ ।’

प्रतिक्रिया दिनुहोस्