काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल संरचना थप सुरक्षित र विश्वसनीय बनाउन ब्रोकर कम्पनीहरूका लागि सूचना प्रविधि (आईटी) अडिट अनिवार्य गरेको छ । नेप्सेले ‘आईटी अडिट गाइडलाइन्स-२०२६’ कार्यान्वयनमा ल्याउँदै यस्तो व्यवस्था लागू गरेको हो ।
नयाँ प्रावधानअनुसार अब प्रत्येक ब्रोकर कम्पनीले कम्तीमा दुई वर्षमा एक पटक आईटी अडिट गराउनुपर्नेछ । साथै, नव-दर्ता भएका ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गरी प्रतिवेदन नेप्सेसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको छ । अडिट मान्यता प्राप्त आईटी विज्ञ वा अधिकृत अडिट फर्ममार्फत गराउनुपर्नेछ ।
निर्देशिकामा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक सूचना व्यवस्थापन प्रणाली, सर्भर, डाटाबेस, नेटवर्क, वेबसाइट तथा मोबाइल एपलगायत सम्पूर्ण डिजिटल पूर्वाधार परीक्षणको दायरामा पर्ने उल्लेख छ । त्यस्तै, प्रयोगकर्ता प्रमाणीकरण प्रक्रिया, डेटा ब्याकअप प्रणाली, फायरवाल, इन्क्रिप्सन प्रविधि र समग्र साइबर सुरक्षा नीतिको प्रभावकारिताको समेत अनिवार्य परीक्षण गर्नुपर्नेछ ।
नेप्सेले अनलाइन कारोबारको दायरा तीव्र रूपमा विस्तार भइरहेका बेला साइबर जोखिम बढ्दै गएको निष्कर्षसहित अडिट प्रक्रियालाई संस्थागत गरिएको जनाएको छ । निर्देशिका पालना नगर्ने ब्रोकर कम्पनीमाथि आवश्यक कारबाही गर्ने प्रावधान समेत राखिएको छ ।