• Menu

सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

नेपाल प्रफिट

२०८२ फागुन १५, शुक्रबार १७:२७

सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्षको सुरुमा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको ऋण सात महिनामा एक खर्ब ८४ अर्ब ९३ करोड थपिएर २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत हुन आउँछ।

हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाा र बाह्य ऋण दायित्व १५ खर्ब नौ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये माघ मसान्तसम्ममा दुई खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ प्राप्ति गरेको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२ दशमलव ८९ प्रतिशत हो ।

यस वर्ष आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकामा ६० दशमलव १३ प्रतिशत अर्थात् दुई खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ उठाइसकेको छ । त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म १६ दशमलव १८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड रुपैयाँ प्राप्त भएको छ ।

ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले यस वर्ष चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेकामा माघ मसान्तसम्ममा दुई खर्ब तीन अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च तीन दशमलव ३३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्