काठमाडौं । नेसनल लाइफ इन्स्यारेन्स कम्पनीले ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी कार्यक्रम गरी सम्पन्न गरेको छ । वार्षिकोत्सव विशेष कार्यक्रममा अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बिमित, शुभेच्छुक र सरोकारवाला सबैप्रति आभार व्यक्त गरेकी छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बिमितलगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावका कारण छुट्टै पहिचान बनाउन सफल भएको बताए । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामग्री वितरणसहित त्यहाँ रहेका बालबालिकालाई खाना खुवाएको थियो ।
वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमका साथै विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम लगायतलाई सहयोग गरिएको कम्पनीले जनाएको छ । त्यस्तै अन्तर कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेबलटेनिस र बुद्धिचाल आयोजना गरिएको खत्रीले जानकारी दिए ।