• Menu

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा रोबोट्रोनिक्स समिट

नेपाल प्रफिट

२०८२ फागुन ८, शुक्रबार ११:२९

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा रोबोट्रोनिक्स समिट

काठमाडौं । ‘रोबोट्रोनिक्स र अटोमेसन क्षेत्रमा नेपालको सम्भावनालाई विश्वस्तरमा जोड्ने उद्देश्यका साथ ‘रोबोट्रोनिक्स समिट २०२६’ आयोजना गरिएको छ ।

सफ्टवेरिका कलेज अफ आईटी एन्ड इकमर्स, रोबर्टिका इन्स्टिच्युट तथा अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेसनल रोबोर्टिक कलेजसँगको सहकार्यमा मैतिदेविस्थित सफ्टवेरिका परिसरमा आयोजित समिटमा आईटीसम्बन्धी प्रदर्शनी र अन्तर्क्रिया आयोजना गरिएको हो ।

समिटमा २०० भन्दा बढी विद्यार्थी, आईटी व्यवसायी, प्राध्यापक तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रमले नेपाल विश्वव्यापी रोबोटिक्स प्रतिस्पर्धामा अघि बढ्न तयार रहेको स्पष्ट सन्देश दिएको सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

प्रविधिको तीव्र परिवर्तनसँगै शिक्षा प्रणाली पनि अद्यावधिक हुनुपर्नेमा अध्यक्ष उनले जोड दिए । उनका अनुसार डिजिटल रूपान्तरण र नवप्रवर्तनमै नेपालको आगामी आर्थिक सम्भावना पनि आईटी क्षेत्रमा निर्भर रहनेछ ।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले ‘सिक्दै कमाउने’ अवधारणालाई प्राथमिकता दिनुपर्ने बताए । व्यावहारिक र उद्योग–उन्मुख आईटी शिक्षाको आवश्यकतामा उनले जोड दिए । कृषि आधुनिकीकरण, पूर्वाधार विकास तथा आर्थिक वृद्धिमा रोबोटिक्सको भूमिका निर्णायक हुने मल्लले प्रस्ट पारे ।

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालको प्रविधि क्षेत्रलाई बलियो बनाउन क्यान प्रतिबद्ध रहेको जानकारी दिए । स्टार्टअप र आईटी कम्पनी स्थापना गर्न इच्छुक युवालाई आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराइने प्रतिबद्धता उनले जनाए ।

इन्टरनेसनल रोबर्टिक्स इन्कका अध्यक्ष युधिष्ठिर गौलीले जर्मनी र अमेरिकामा रोबोटिक्स क्षेत्रमा हासिल गरेको अनुभव साझा गर्दै आधुनिक पाठ्यक्रमले शिक्षा र उद्योगबीचको दूरी घटाउने धारणा राखे । उत्कृष्ट तथा परिश्रमी विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्लेसमेन्ट र अवसर उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

समिटले रोबोटिक्स र अटोमेसन केवल प्रविधिगत क्षेत्र नभई आर्थिक रूपान्तरणको रणनीतिक आधार बन्न सक्ने संकेत दिएको छ । स्मार्ट कृषि, स्वास्थ्य सेवा, उत्पादन, पूर्वाधार र एआई–आधारित सेवाहरूमा रोबोटिक्सको प्रयोग तीव्र रूपमा बढ्दो क्रममा रहेको सहभागीले बताएका छन् ।

‘रोबोट्रोनिक्स समिट २०२६’ नेपालका लागि कोसेढुंगा सावित भएको छ । यसले नयाँ पुस्तामा महत्वाकांक्षा र आत्मविश्वास जगाउँदै नेपाललाई विश्व रोबोटिक्स मूल्य शृंखलामा समावेश गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ ।

प्रतिक्रिया दिनुहोस्