जब हामी भ्रष्टाचारको कुरा गर्छौं, प्रायः नेता, सरकार वा कर्मचारीलाई दोष दिन्छौं । यहाँ, प्रश्न उठ्छ- के जनता निर्दोष छन् त ? के नेताले मात्र देश बिगारेका हुन् ? तर, साँचो कुरा के हो भने भ्रष्टाचारलाई जन्माउने र टिकाइराख्ने आधार जनता पनि हुन् ।
आज नेता र कर्मचारी भ्रष्ट हुन्छन् किनभने जनता मौन हुन्छन्, सुविधा र स्वार्थको लोभमा आफ्नो अधिकार बेचिदिन्छन् । चुनावमा एक लिटर पेट्रोल, एक बोतल रक्सी र एक चोक्टा मासुमा आफ्नो मत बेचिदिन्छन् । जबसम्म जनता आफ्नै अधिकार सस्तोमा बेचिरहन्छन् भने नेताबाट न्यायको अपेक्षा गर्नु केवल भ्रम हो ।
जनताले ‘हामीले के गर्न सक्छौं र ?’ भन्ने मानसिकतामा मौनधारण गरेकै कारण नेताले खुलेआम दुरुपयोग गर्छन् । देश बिगार्ने दोष नेतामा मात्र होइन, मौन, असचेत र स्वार्थी जनतामै पनि छ । जबसम्म जनता आफ्नो भूमिका स्वीकार्दैनन् र सचेत हुँदैनन तबसम्म भ्रष्टाचारलाई रोक्ने कुनै पनि शक्ति सफल हुन सक्दैन ।
जनता सुध्रिए भने मात्र नेताको चाल पनि बदलिन्छ । सानो अन्याय देख्दा पनि चुप लाग्छन्, ठूला भ्रष्टाचार देख्दा पनि काँध उचाल्ने गर्छन् । सरकारी कार्यालयमा अन्याय देख्दा कोही बोल्दैनन्, बरु लाइन काट्न पाए वा काम चाँडो भए भनेर खुसी मान्छन् । यही मौनताले भ्रष्टलाई अझ बलियो बनाइरहेको छ ।
अझ दुःखद् पक्ष त के छ भने जनता विरोध गर्दा पनि टुक्राटाक्रीमा गर्छन्- दलको झण्डा बोकेर आफ्नो स्वार्थअनुसार । एउटै स्वरमा, एउटै आवाजमा भ्रष्टाचारविरुद्ध बोल्ने प्रवृत्तिको विकास भएको छैन । परिणामस्वरूप नेताले सहजै जनतालाई विभाजन गर्छन् र उनीहरूको मौनतालाई आफ्नो जितको प्रमाण बनाउँछन् ।
साँचो कुरा त यो हो, जनताको मौनता नै नेताको सबैभन्दा ठूलो ताकत हो । जनता मौन बसिरहन्छन् भने नेता सधैं बोलिरहन्छन् र देश सधैं खाली वचनमा मात्र अड्किरहन्छ ।
छिटो काम चाहिने तर काममा समयमा नजाने अनि ‘भनसुन’ को प्रणाली जनताले नै सिर्जना गरेका हुन् । अब नेताहरू मात्रैलाई के दोष दिने ? नेताले त जनताले भनेको काम गरिदिने हो तर हामीले आफ्नै स्वार्थका लागि ‘मेरो काम छिटो’ भन्यौं भने अरुको काम सुस्त हुने कुरा किन बुझ्दैनौं ?
आखिर दोष नेता र कर्मचारीमा मात्रै लगाएर हुन्छ त ? यसरी हामीले नै भ्रष्टलाई प्रोत्साहन गर्यौं, बढावा दियौं अनि अन्ततः आजको भ्रष्ट प्रणाली जन्मायौं । अर्थात्, दोष नेतामा मात्र होइन, हामी जनताको सोच, बानी र व्यवहारमा पनि छ । जबसम्म हामी सुध्रिन्नौं, नेता र कर्मचारी पनि कहिल्यै सुध्रिँदैनन् ।
सानो-सानो बेइमानी
भ्रष्टाचार भन्नासाथ हामी प्रायः ठूला ठेक्का, करोडौँको कमिसन वा उच्च पदमा हुने अनियमिततालाई सम्झन्छौं । तर, वास्तविकता के हो भने भ्रष्टाचार केवल त्यत्तिमा सीमित छैन । हाम्रो दैनिक जीवनमा हुने सानो–सानो बेइमानी नै ठूलो भ्रष्टाचारको जग हुन्छ ।
परीक्षामा पास हुन चिट चोर्ने विद्यार्थी पनि इमानदारी बेचिरहेको हुन्छ । लाइसेन्स लिन योग्यतामा भरोसा नगरी घुस दिएर सजिलो बाटो खोज्ने नागरिक पनि भ्रष्ट संस्कृतिलाई बढावा दिइरहेको हुन्छ । कर तिर्नुपर्ने भए पनि नतिरी वस्तु किन्ने, बिजुलीको मिटर छलेर चोर्ने वा लाइनमा आफ्नो पालो छोडेर अरूको अधिकार हनन गर्ने- यी सबै कार्यहरू सामान्य देखिए पनि यस्ता गतिविधिले समाजमा भ्रष्टाचारको बीउ रोपिरहेका हुन्छन् ।
यिनै साना बेइमानीलाई हामी सामान्य भनी नजरअन्दाज गर्छौं तर यिनै प्रवृत्तिले समाजमा ठूलो भ्रष्टाचारलाई वैधानिकता दिन्छ । नागरिकले आफ्नै स्तरमा इमानदारीलाई महत्व दिए भने नेता वा कर्मचारीले पनि भ्रष्टाचार गर्न सजिलै पाउँदैनन् । त्यसैले ठूलो भ्रष्टाचारलाई अन्त्य गर्न पहिले सानो बेइमानीको बानीलाई अन्त्य गर्न आवश्यक छ ।
जनताले सधैं भन्छन्, ‘हामी त बिचरा, नेताले मात्र देश बिगारे ।’ तर, यथार्थ के हो भने नेताले त जनताको प्रतिविम्ब मात्र देखाउँछन् । जनता जस्ता छन्, नेता पनि त्यस्तै बन्ने गर्छन् । जनता इमानदार, सचेत र निडर भए भने भ्रष्ट नेता चुनाव जित्नै सक्दैनन् ।
जनता- भुक्तभोगी
साँचो कुरा यो हो- जनता भुक्तभोगी मात्र होइनन्, दोषी पनि हुन् । नेताले चुनावताका पैसा बाँडेर मत किन्छन् भने त्यसलाई बेच्ने पनि जनता नै हुन् । घुस खानेलाई गाली गर्छन् तर काम सजिलो बनाउन घुस दिन पुग्ने पनि जनता नै हुन्छन् । सडकमा आन्दोलनको नारा लगाउँछन्, भ्रष्टाचारविरुद्ध आवाज उठाउँछन् तर भोलिपल्ट फेरि त्यही नेताको भाषण सुन्न भीडमा उभिन्छन् ।
यसरी आफ्नै अधिकार बेच्ने, सजिलो बाटो खोज्ने र भोलि बिर्सने बानीले जनता भुक्तभोगी मात्र होइन, भ्रष्ट प्रणालीलाई निरन्तरता दिने दोषी पनि भएका छन् । जबसम्म जनताले आफ्नै कमजोरी स्वीकार गरेर सुधार गर्दैनन्, तबसम्म नेताको चरित्र बदलिने कुनै आधार हुँदैन ।
आज नेपाली जनता निराश छन् तर त्यो निराशालाई सुधारमा होइन, पलायनमा खर्च गर्छन् । पासपोर्टको लाइनमा हजारौँ उभिन्छन् तर भ्रष्टाचारको लाइन तोड्न कोही उभिँदैनन् । आन्दोलन हुन्छ तर आन्दोलन पनि पार्टीको झण्डा लिएर, व्यक्तिगत स्वार्थमा सीमित हुन्छ । जनता अझै पनि ‘हामीले के गर्न सक्छौं र ?’ भन्ने बहानामा लापर्बाही गर्छन् ।
अब के ?
भ्रष्ट जनतालाई सुधार्न सके मात्र भ्रष्ट नेताको अन्त्य हुन्छ । नेताले जनताको प्रतिविम्ब देखाउँछन्, त्यसैले जनता नै बदलिनुपर्नेछ । पहिलो कदम भनेको आफ्नो मत बेच्ने होइन, योग्य, इमानदार र देशप्रेमी व्यक्तिलाई दिने संस्कार बसाल्नु हो ।
चुनावमा पैसाको लोभमा मत बेचेर नेता चुन्ने प्रवृत्तिले आजसम्म देशलाई अँध्यारोमा डुबाएको छ । त्यसैले मतलाई आफ्नो आत्मसम्मानको मूल्य ठानेर मात्र प्रयोग गर्नुपर्छ । त्यसपछि, सानो–सानो बेइमानीलाई पूर्णरूपमा त्याग्न जरुरी छ ।
चिट चोरेर परीक्षा पास गर्ने, कर छली गर्ने, बिजुली वा पानी चोरी गर्ने, पालो पर्खन नजानेर लाइन तोड्ने यी सबै बानीले समाजमा ठूलो भ्रष्टाचारलाई बढावा मात्र दिएको छैन, जग नै बसाएको छ । जबसम्म नागरिकले आफ्नो स्तरमा इमानदारीलाई प्राथमिकता दिँदैनन्, तबसम्म माथिल्लो तहमा हुने ठूलो भ्रष्टाचार रोक्न सकिँदैन ।
कर तिर्ने, नियम मान्ने, पालो पालो पर्खने संस्कारलाई जीवनको हिस्सा बनाउनुपर्छ । यो सजिलो लाग्दैन तर यिनै सानातिना अभ्यासहरूले दीर्घकालीन रूपमा इमानदार समाज निर्माणमा सहयोग पुग्छ ।
त्यसैगरी, मौन बस्ने होइन, आवाज उठाउने संस्कार पनि जनतामा हुनुपर्छ । अन्याय देख्दा चुप लाग्ने होइन, सत्य बोल्ने, प्रश्न गर्ने र परिवर्तनको माग गर्ने बानी बसाल्न जरुरी छ । जब जनता सचेत, निर्भिक र सक्रिय हुन्छन्, नेताहरू स्वाभाविक रूपमा उत्तरदायी बन्न बाध्य हुन्छन् ।
जनता साक्षर मात्र होइन, सचेत पनि भए भने घुस नदिने, मत नबेच्ने, नियम नतोड्ने संस्कार बलियो हुन्छ । त्यसैले शिक्षा प्रणालीले केवल किताबको ज्ञान होइन, इमानदारी र जिम्मेवारीको मूल्य पनि सिकाउनुपर्छ । र, समाधानको बाटो नेताको भाषण वा कानुनको पानामा मात्र छैन, जनताको सोच, बानी र संस्कारमा छ, जब जनता आफैं इमानदार हुन्छन, तब मात्र भ्रष्ट नेताले टिक्ने ठाउँ पाउँदैनन् र त्यो दिन नै साँचो परिवर्तन सुरु हुन्छ ।
‘भ्रष्ट जनता’ भन्ने शब्द तीतो लाग्न सक्छ तर यही नै कठोर यथार्थ हो । जबसम्म जनता आफ्नै सोच, बानी र व्यवहार सुधार्दैनन्, तबसम्म नेताबाट सुधारको आशा गर्नु केवल भ्रम हुन्छ । देश बदल्ने शक्ति नेतामा होइन, जनतामा छ, जनता सच्चिए भने, भ्रष्टाचार आफैं हराउँछ ।
सानो–सानो बेइमानी रोक्ने संस्कार बसालियो भने ठूलो भ्रष्टाचारको जग आफैं भत्किन्छ । कर तिर्ने, नियम मान्ने, पालो पर्खने, मत नबेच्ने, घुस नदिने-यी सामान्य अभ्यासहरू नै दीर्घकालीन परिवर्तनको आधार हुन्छन् । तर, जनता भ्रष्ट रहे भने संसारकै उत्कृष्ट संविधान लेखे पनि, लाखौँ योजना बनाए पनि, नेता फेरिए पनि, सरकार बदलिए पनि देश उस्तै रहन्छ । सडकमा नारा घन्किरहन्छ, संसदमा भाषण गुन्जिरहन्छ तर व्यवहारमा केही पनि परिवर्तन हुँदैन ।
त्यसैले अब प्रश्न नेताले के गर्छन् भन्ने होइन, हामी जनताले के गर्छौं भन्ने हो । जब जनता सजग, इमान्दार र निडर हुन्छन, तब मात्र नेताले पनि विवश भएर सुधिरिन्छन् । देशको भविष्य नागरिकको इमानमा अडिएको छ । जनताले सुधारको बाटो रोजे भने नेपालले अँध्यारो चिरेर उज्यालो युग अवश्य देख्नेछ ।
(केबी बोहरा हाइड्रोपावर इन्जिनियर हुन् ।)
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal