काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेबाट २२औँ साधारण सभा आह्वान गरेको छ। सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन पारित गरिनेछ ।
साथै २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति, अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि सम्बन्धी प्रस्ताव र सञ्चालक समितिमा भएका परिवर्तनको अनुमोदन समेत हुनेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्रै लाभांश प्राप्ति र सभामा सहभागी हुन योग्य रहनेछन्।