• Menu

विचार

जेन-जीको एउटा नारा : घुस खाने घुसिया- कुकुरभन्दा भुसिया

नेपाल प्रफिट

२०८२ असोज ३०, १९:४२

जेन-जीको एउटा नारा : घुस खाने घुसिया- कुकुरभन्दा भुसिया

हामीले सुनेको एउटा भनाइ छ- घुस खाने घुसिया, कुकुरभन्दा भुसिया ।

यो वाक्य केवल गाली होइन, एउटा सत्य चित्रण हो । समाजको कुकुरले त घरको रक्षा गर्छ, मालिकलाई बफादारी देखाउँछ । तर, घुस खाने घुसिया भने समाजको सुरक्षा होइन, विनासको कारक बन्छ । उसले जनता, राष्ट्र र भविष्यलाई चपेटामा पार्छ ।

भ्रष्टाचार कुनै सानो गल्ती होइन । यो हाम्रो भविष्य खाने कीरा हो । यो रोगले विद्यालयमा किताब पुर्‍याउन दिँदैन, अस्पतालमा औषधि पुर्‍याउन दिँदैन, सडकमा गुणस्तरीय डामर हाल्न दिँदैन । जब घुस चल्छ, त्यतिबेला न्याय लोप हुन्छ । कसैको नागरिक हक पैसाको थैलीमा बेचिन्छ । कसैको जीवन एउटा सिफारिस पत्रमा थुनिन्छ । अनि देशको विकास केवल भाषणमा सीमित हुन्छ ।

भ्रष्टाचारले गरिब झन् गरिब बन्छन्, धनी अझ धनी हुन्छन् । किसानले पसिना बगाएर पनि बीउ र मलको अभाव झेल्नुपर्छ तर नेताको घरमा बिना मेहनत नोटको थुप्रो जम्मा हुन्छ । सरकारी अफिसमा सामान्य सिफारिस लिन जाँदा पनि ‘चिया पैसा’ दिनुपर्ने बाध्यता हुन्छ । यस्तो प्रणालीले जनताको विश्वास मात्र हराउँदैन, राज्यको मेरुदण्ड नै कमजोर पार्छ ।

जब कानुन किनबेच हुन्छ, शिक्षा विकृति हुन्छ, स्वास्थ्य व्यापार हुन्छ, त्यसलाई रोगभन्दा बढी अभिशाप भन्नुपर्छ । भ्रष्टाचारले युवाको रोजगारीको बाटो बन्द गर्छ, विदेश पलायन बढाउँछ, अनि देशभित्र निराशा मात्र बाँड्छ । यही कारणले समाजमा असमानता बढ्छ, द्वन्द्व बढ्छ, अनि नागरिक र नेताबीचको दूरी अझ फराकिलो बन्छ ।

भ्रष्टाचारविरुद्ध सबैले आवाज उठाउन जरुरी छ । केवल नारा र भाषणले यो रोग निको हुँदैन । प्रत्येक नागरिकले इमानदार भएर आफ्नो कर्तव्य पुरा गर्नुपर्छ, प्रत्येक अफिसरले आफ्नो पदलाई सेवाको माध्यम बनाउनुपर्छ, अनि प्रत्येक नेताले जनताको विश्वासलाई जिम्मेवारी ठान्नुपर्छ ।

भ्रष्टाचार अन्त्य भयो भने मात्र शिक्षा पहुँचयोग्य हुन्छ, स्वास्थ्य सस्तो हुन्छ, रोजगारी देशमै सिर्जना हुन्छ र विकास भाषणमा होइन- प्रत्येक गाउँ र सहरमा देखिन्छ । त्यसैले, भ्रष्टाचारविरुद्धको संघर्ष अब विकल्प होइन, हाम्रो अस्तित्वकै सवाल हो ।

कुकुर घुसियाभन्दा बलियो किन ?

कुकुर घुसियाभन्दा बलियो किनभने कुकुरले मालिकलाई सदैव सचेत गराउँछ तर घुसियाले राष्ट्रलाई धोका दिन्छ । कुकुरले घरको ढोका हेर्‍छ भने, घुसियाले देशको ढोका खोलेर अपराधीलाई भित्र ल्याउँछ । कुकुरलाई अन्नको सानो टुक्रा दिए पनि ऊ बफादार हुन्छ तर घुसियालाई लाखौँ दिँदा पनि लोभ अझै बढ्छ ।

कुकुरले हरेक दिन मालिकको आदेश पालना गर्छ तर घुसियाले देशको कानुनमाथि लात हान्छ । कुकुरले आफ्नो ज्यान दिएर घरको रक्षा गर्छ भने घुसियाले पद बेचेर राष्ट्र बेचिदिन्छ । कुकुरसँग दाँत र भुकाइ हुन्छ, जसले अपराधीलाई डराउँछ तर घुसियासँग केवल पेट हुन्छ, जसले पैसाको लागि देशलाई बेच्न मात्र जान्दछ ।

कुकुरलाई माया गर्दा ऊ अझै नजिक हुन्छ तर घुसियाले माया गर्ने जनतालाई नै चुस्छ । कुकुरको मृत्युपछि पनि मालिकले श्रद्धा गर्छ तर घुसियाको नाम इतिहासमै कालो दाग बनेर बस्छ । त्यसैले, घुस खाने घुसिया कुकुरभन्दा भुसिया हो : बेकार, लाजमर्दो, घृणित, राष्ट्रघाती र नेपाली मानवताको दुश्मन ।

नागरिकको पीडा

सामान्य नागरिकले घुस नदिएसम्म फाइल चल्दैन । अस्पतालमा बिरामी लाइनमै सर्छ, उपचार अघि बढ्दैन । विद्यार्थीले मेहनत गर्छ तर जागिर घुस दिने र ‘भनसुन’ गर्नेले खान्छ । किसानले पसिना बगाउँछ तर अनुदान दलालले खान्छ ।

जनताको करबाट उठेको बजेट नेताको खल्तीमा पुग्छ अनि विकासको भाषण रेडियो–टेलिभिजनमा मात्र सुनिन्छ । सुरक्षामा राखिएको पैसा तस्कर र माफियासँग मिलेर हराउँछ तर सीमामा सामान्य नागरिकलाई अनावश्यक तर्साइन्छ ।

श्रमिक बिदेसिन बाध्य हुन्छन्, आफ्नै देशमा पसिना बेच्ने ठाउँ छैन । उनीहरूको रेमिट्यान्सले देश टिक्छ तर त्यही पसिनालाई कसैले मूल्य दिँदैन । युवाले नयाँ विचार ल्याउँछन्, उद्यम गर्न खोज्छन् तर ठूला पहुँचवाला कम्पनी र ठेकेदारले मात्र नीति–नियम आफ्ना लागि बनाउँछन् । सामान्य जनताको सपना भने बारम्बार कुचिन्छ ।

यस्तो अवस्था हेर्दा मनमा प्रश्न उठ्छ- के यो राष्ट्र केवल ठूला माछाका लागि हो ? किन सधैं सानो जनताको आवाज दबाइन्छ ? किन रगत, पसिना, आँसु सधैं सस्तो हुन्छ ? यो क्रम रोकिएन भने आम नागरिकको पीडा केवल साहित्यमा होइन- सडकमा विस्फोट भएर देखा पर्छ ।

परिवर्तनको आगो

यो वाक्य ‘परिवर्तनको आगो’ केवल रिसको नारा होइन, यो नयाँ पुस्ताले दिएको चेतावनी हो । उनीहरूको साहसले आज देशलाई जगाइरहेको छ । सडकमा उत्रिएका युवाहरूले स्पष्ट सन्देश दिएका छन्, अब घुस चल्दैन, अब दलाली चल्दैन र अब ढुलमुले नेतृत्व चल्दैन ।

नागरिकलाई धोका दिने राजनीति अब सह्य छैन, पैसाको दादागिरीमा न्याय हराउने अवस्था अब सह्य छैन । विकासका नाममा कमिसन खाने खेल अब सह्य छैन, जनताको रगत चुस्ने माफिया शासन अब सह्य छैन । यो आगो केवल क्रान्तिको ज्वालामुखी होइन, नयाँ युगको उदय हो ।

परिवर्तनको आगो सल्किसकेको छ । यो आगो कुनै व्यक्तिगत लाभका लागि होइन, सम्पूर्ण राष्ट्रको न्यायका लागि हो । घुस खाने घुसिया अब सजिलै लुकेर बस्न पाउँदैन । भ्रष्ट नेताले अब सजिलै कुर्सी सम्हाल्न पाउँदैन । र, जनताको पसिना चोर्ने दलालले अब सजिलै उन्मुक्ति पाउँदैन । यो आगो बुझ्दैन, यसलाई पानीले निभाउन सकिँदैन । यो आगो युवाको सपना, आमाको आँसु, बुबाको पसिना र निराश जनताको चिच्याहटले बलिरहेको छ । अब एउटा मात्र सन्देश छ- नयाँ नेतृत्व, नयाँ मूल्य, नयाँ नेपाल ।

के गर्नुपर्छ ?

घुस खानेलाई जेल हाल्ने मात्र होइन, सम्पत्ति जफत गर्नुपर्छ ।

सेवामा घुस रोक्न डिजिटल अनुगमन आवश्यक छ ।

जनता मौन रहनु भनेको भ्रष्टाचारलाई मान्यता दिनु हो । आवाज उठाउनु नै समाधानको पहिलो ढोका हो ।

पुराना चलन र व्यवहारले देश बर्बाद बनायो । अब युवाले नेतृत्व सम्हाल्नुपर्छ ।

सरकारी बजेट, ठेक्का, निर्णय सबै खुला डेटा प्रणालीमार्फत जनतासामु सार्वजनिक गर्नुपर्छ ।

न्यायपालिका दबाब वा दलको हातमा रहँदा भ्रष्टाचार बढ्छ । स्वतन्त्र र निष्पक्ष न्यायालय आवश्यक छ ।

विद्यालयदेखि विश्वविद्यालयसम्म नैतिक शिक्षा र सामाजिक उत्तरदायित्वलाई अनिवार्य बनाउनुपर्छ ।

स्वतन्त्र प्रेसले भ्रष्टाचार उजागर गर्ने वातावरण बनाउनुपर्छ । जनतालाई सत्य जानकारी दिन सक्ने स्वतन्त्रता चाहिन्छ ।

प्रहरी र प्रशासनमा पारदर्शी नियुक्ति र कठोर अनुशासन अनिवार्य छ, नभए त्यहीँबाट भ्रष्टाचार सुरु हुन्छ ।

चुनावमा पैसाको खेल रोक्न कडा चुनावी आचारसंहिता, खर्च पारदर्शिता र आम नागरिकको प्रत्यक्ष अनुगमन आवश्यक छ ।

ई-गभर्नेन्स, ब्लकचेन आधारित नीतिगत अनुगमन र अनलाइन प्रतिवेदन प्रणालीले ‘घुसको ढोका’ बन्द गर्न सक्छ ।

एनजीओ, आईएनजीओ, समाजसेवी संस्थाहरूले निगरानी र सचेतना दुवै बढाउनुपर्छ ।

जागिर, शिक्षा, स्वास्थ्य, व्यवसाय सबै क्षेत्रमा समान अवसर बिना भ्रष्टाचार घट्दैन । ‘योग्यता भन्दा पैसाले जित्छ’ भन्ने धारणा अन्त्य गर्नुपर्छ ।

इमानदार कर्मचारीलाई प्रोत्साहन तथा भ्रष्ट कर्मचारीलाई तुरुन्त दण्ड दिने प्रणाली बसाल्नुपर्छ ।

 

‘घुस खाने घुसिया- कुकुरभन्दा भुसिया’ यो वाक्य आजको समाजको दर्पण हो । जबसम्म हामी मौन छौं, तबसम्म घुसियाले देश चपाइरहन्छ । तर जब जनता उठ्छन्, जब परिवर्तनको आँधी चल्छ तब घुसिया कुकुरहरू खरानी जस्तै विलिन हुन्छन् ।

हामीले अब एउटै कुरा बुझ्नुपर्छ- राष्ट्र बचाउने हो भने घुस खाने घुसियाको अन्त्य गर्नैपर्छ । भ्रष्टाचारमुक्त समाज बनाउने हो भने अब होइन भने कहिले ? हामी होइन भने को ? जनताको आँसु अब मौन बस्दैन र बस्नु पनि हुँदैन । युवाको रगत अब चुप लाग्दैन ।

भ्रष्ट नेताले देश बेच्दा, दलालले सपना लुट्दा र घुसियाले पसिना चुस्दा अब हामी बस्ने होइनौं, हामी उठ्नैपर्छ, जाग्नैपर्छ । आजको संघर्ष केवल व्यक्तिगत रिस होइन, भविष्यको आशा हो । यो लडाइँ केवल भ्रष्टाचारविरुद्ध होइन, न्याय, समानता र इमानको पक्षमा हो । यो आन्दोलन केवल सडकमा नारा होइन, पुस्तौँ पुस्तालाई बाँच्ने आधार हो ।

हामी उठ्छौं भने नयाँ इतिहास लेखिन्छ । हामी मौन बस्छौं भने भविष्य फेरि अन्धकारमा हराउँछ ।

(केबी बोहरा हाइड्रोपावर इन्जिनियर हुन् ।)

प्रतिक्रिया दिनुहोस्