• Menu

बाँकेको गुजरटोलमा वर्षौँपछि सडक कालोपत्र, स्थानीय खुसी

नेपाल प्रफिट

२०८२ असार ४, बुधबार १२:४०

बाँकेको गुजरटोलमा वर्षौँपछि सडक कालोपत्र, स्थानीय खुसी

बाँके । कोहलपुर नगरपालिका-४ स्थित गुजरटोलमा एक सय ८० मिटर सडक कालोपत्र गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट २३ लाख ९६ हजार २१८ को लागतमा सो सडक कालोपत्र गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका-९ स्थित अनमोल निर्माण सेवाले वैशाख २८ गते सम्झौता गरेर जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा सञ्चालित गुजरटोलको बाटो कालोपत्र गर्ने कार्य सम्पन्न भएपश्चात गुजर टोलवासीमा खुसी छाएको वडा नं ४ का वडाध्यक्ष मुवारक अलि गुजरले बताए ।

‘खुसीको कुनै सीमा नै छैन, वर्षौँपछि धेरैपटक प्रयास गर्दा बल्ल सडक कालोपत्र भयो,’ उनले भने ।

वडाध्यक्ष गुजरले अझै केही मिटर सडक कालोपत्र गर्न बाँकी रहेको जानकारी दिँदै बाँकी सडक नयाँ आर्थिक वर्षमा सम्पन्न हुने बताए । सडक कालोपत्र भएको सो बस्ती कोहलपुर बजारबाट साढे तीन किलोमिटर पश्चिममा पर्छ । यो एक सय ३० वर्ष पुरानो बस्ती रहेको वडाध्यक्ष गुजरले बताए ।

नगर क्षेत्रमा विकास निर्माण कार्य भएता पनि बजार क्षेत्रबाट नजिकै अवस्थित रैथाने मुस्लिम समुदायको बाक्लो बस्ती रहेको गुजर टोलमा सडकको विकास भएको थिएन । सो  टोलको बाटो कच्ची भएकाले बर्खायाममा स्थानीय बालबालिकालाई विद्यालय आवतआवत गर्न असहज थियो ।

सडक कालोपत्र भएपछि गुजरटोलको दुई सय र बेलनपुर बस्तीका एक हजार चार सय मुस्लिम समुदायका बासिन्दामा यातायातको सहजता भएको वडाध्यक्ष गुजरले बताए ।

नगरपालिका क्षेत्रमा अहिले १८ वटा सडक स्तरोन्नति तथा तटबन्धसम्बन्धी आयोजना निर्माणको काम भइरहेको छ । यस्ता योजनाले समावेशी विकास, दिगो पूर्वाधार र जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार गर्ने दिशामा नगरपालिकालाई नयाँ उचाइमा पुर्‍याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्