• Menu

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै, वार्षिक ६ लाखभन्दा बढी आम्दानी

नेपाल प्रफिट

२०८२ असार ४, बुधबार १२:०१

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै, वार्षिक ६ लाखभन्दा बढी आम्दानी

गुल्मी । सत्यवति गाउँपालिका-८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उनले किबीखेती गरेर वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन् । सत्यवती-८ का सदस्य थापाले गत ११ वर्षदेखि किबीखेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किबीखेती गर्दै आएका छन् । उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी ६ जातका किबीका बिरुवा छन् ।

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष चार लाखको किबी र दुई लाखको किबीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किबीले उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो ।

एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किबी फल्ने गरेको छ । उनको बारीमा अहिले एक सय ५० किबीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गरेका हुन् ।

‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु,’ उनले भने । किबीमा अन्य जातका फलफुलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । ‘वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गदै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ,’ थापाले भने ।

उनले उत्पादन गरेको किबी बजारमा दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ ।

उनले किबीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन् । किबीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई एक सय ५० देखि दुई सय पर्दछ ।

गाउँपालिकाले भार्षेलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।

किबीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किबी राम्रो मानिन्छ । यसको मुल्य अन्य जातको किबीको भन्दा रु एक सय बढी पर्दछ । भार्षेमा पाँच वटा किबी समूहमा ८० कृषक आबद्ध छन् ।

यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्