मोरङ । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’को काँकडभिट्टा-लौकही खण्ड कालोपत्र सुरु भएको छ । आयोजनाको पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मंगलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम सुरु भएको हो ।
निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ । एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमीमा मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ भित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । पूर्वी खण्डमा ५० र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन् ।
यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जंगलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ । एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० माघ १९ गतेदेखि निर्माण सुरु भएको हो ।