• Menu

कैलाली भन्सार कार्यालयले ११ महिनामा संकलन गर्‍यो ७ अर्ब ८१ करोड राजस्व, वार्षिक लक्ष्य भेट्टाउन संघर्ष

नेपाल प्रफिट

२०८२ असार ४, बुधबार १०:५९

कैलाली भन्सार कार्यालयले ११ महिनामा संकलन गर्‍यो ७ अर्ब ८१ करोड राजस्व, वार्षिक लक्ष्य भेट्टाउन संघर्ष

कैलाली । कैलाली भन्सार कार्यालयले ११ महिनामा ७ अर्ब ८१ करोड २८ लाख राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम संकलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख संकलन गरेको छ ।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६९.९९ प्रतिशत छ ।

चालु आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख, कात्तिकमा ६२ करोड ७८ लाख, मंसिरमा ८१ करोड १३ लाख र पुसमा ६५ करोड ८७ लाख राजस्व संकलन भएको छ ।

त्यसैगरी माघमा ७३ करोड दुई लाख, फागुनमा ७२ करोड ७६ लाख, चैतमा ७८ करोड ८० लाख, वैशाखमा ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व संकलन भएको छ ।

बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए ।

गत आवमा ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व संकलनको लक्ष्य रहेकामा ७ अर्ब ९१ करोड ८० लाखमात्र संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्