म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा निर्माण भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत उत्पादन सुरु गरेको हो ।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युतगृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
विद्युत विकास बोर्ड र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युतगृहमा टर्वाइनलगायत उपकरणमा विद्युत उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
‘आयोजनाबाट उत्पादित विद्युत करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु हुन्छ,’ आयोजना प्रमुख काफ्लेले भने । २०७७ सालदेखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो ।
यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माणस्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ ।
एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि आयोजनाबाट ढिला गरी विद्युत उत्पादन भएको हो ।
विद्युतगृहमा दुईवटा टर्वाइन जडान गरेर विद्युत उत्पादन सुरु भएको छ । रेलेखर्कस्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्य्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर तीन हजार ५०० मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर विद्युतगृहमा खसाली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्टिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिए ।
हरिस्वाँरामा रहेको विद्युतगृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाइको छ । विद्युतगृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको चार दशमलव तीन किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । एक अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए ।
अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनुपरेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।
नारच्याङमा यसअघि एक सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, ५ मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ ।