काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको द सोल्टी होटल एन्ड रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले द सोल्टी होटलको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् ।
यो सुविधा प्राप्त गर्न ग्राहकले सोल्टी हेरिटेज क्लबमा पहिलो पटक आफ्नो नाम दर्ता भने गराउनुपर्नेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहनका लागि समय-समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १९ लाख ३ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।