काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमी सिर्जनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् । ललितपुरमा शुक्रबार आयोजित आइएमईको २५औँ वार्षिकोत्सव समारोहमा उनले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंक सहजीकरण गर्न तयार रहेको बताए ।
द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेलासमेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीको खाँचो रहेको उल्लेख गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको सफलतामा तीनवटा आधारहरू रहेको प्रस्ट्याए । आइएमईको सुरुवातमा नाफामात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीनवटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको उनले बताए ।
यिनै तीनवटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमईले रेमिट्यान्सबाट बैंकिङ, बिमा, पर्यटन, सूचना प्रविधि, जलविद्युतलगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौँ गुणस्तरीय रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गरे ।
कार्यक्रममा आइएमईका सह-संस्थापक तथा अध्यक्ष हेमराज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । युवाले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिट्यान्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न उनले राष्ट्र बैंकको सहयोगको अपेक्षा गरे ।
यसैगरी विदेशमा काम गर्न जाने क्रममा युवाहरूले महँगो ब्याज तिरेर ऋण लिन बाध्य हुनु परिरहेको अवस्थाको अन्त्य गर्न आइएमईमार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि अध्यक्ष ढकालले गभर्नर पौडेलसमक्ष आग्रह गरे ।
त्यसैगरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको जानकारी दिए । प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै थप विविधीकृत सेवाहरूको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पनि उनले उल्लेख गरे ।
समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा मन्त्रीहरू, राजनीतिज्ञहरू, उच्चपदस्थ कर्मचारीहरू, विभिन्न क्षेत्रका विज्ञहरूसहित आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायतको उत्साहजनक उपस्थिति थियो ।