• Menu

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानलाई बजारसम्म उपज पुर्‍याउन सहज

नेपाल प्रफिट

२०८२ वैशाख ३१, बुधबार १७:१७

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानलाई बजारसम्म उपज पुर्‍याउन सहज

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिका र संघीय सरकारको लागत साझेदारीमा ३४ लाख ७० हजार मूल्यमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । यहाँ उत्पादित कृषिउपज समयमा बजारसम्म पुर्‍याउन नसक्दा किसानहरूले ठूलो आर्थिक समस्या भोग्दै आएका छन् ।

उक्त एम्बुलेन्स पालिकाले सहकारीलाई सञ्चालनका लागि जिम्मा दिएको जनाइएको छ । सहकारीले किसानद्वारा उत्पादित तरकारी खरिद गर्ने र बजारसम्म पुर्‍याउने जनाएको छ । यसरी खरिद गरी बिक्री गरेपछि किसानको खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

कृषि एम्बुलेन्स सञ्चालन भएसँगै किसानहरूले उत्पादित सामग्री सहज रूपमा बजारसम्म पुर्‍याउन सजिलो हुने भएको छ । यसले कृषकलाई प्रोत्साहन गर्नुका साथै उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताए । उत्पादित कृषिउपज सोझै कृषकबाट उपभोक्तासम्म पुग्ने र कृषकले पनि उचित मूल्य पाउने भएपछि उत्साहित भएका उनले उल्लेख गरे ।

कृषि एम्बुलेन्स सञ्चालन गर्नका लागि पालिकास्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र प्रत्येक वडामा उपसमिति गठन गरिएको छ । साथै प्रत्येक वडाको टोलटोलमा संकलन केन्द्र राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए । यसरी संकलन गरिएका तरकारी कृषिउपज बिक्री केन्द्र बुटवलमा लैजाने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

गाउँपालिकाले कृषिउपज बिक्रीका लागि बुटवलमा २८ नम्बर सटर भाडामा लिएको छ । कृषिउपज बिक्री केन्द्र बुटवलले सहकारीलाई सहुलियत दरमा सटर उपलब्ध गराउँदै आएको छ । गत वर्ष उक्त सटरबाट एक सय टन तरकारी बिक्री भएको थियो । पालिकामा व्यावसायिक रूपमा सागसब्जीखेती गर्ने कृषकहरू बढेकाले यस पटक दुई सय टन तरकारी बिक्री गर्ने लक्ष्य राखिएको पालिकाका अध्यक्ष पाण्डेले बताए ।

पालिकाले उत्पादनको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ । दश १० क्विन्टलसम्म तरकारी उत्पादन गरेर सहकारीमार्फत बिक्री गरेमा प्रतिकिलो दुई र दश क्विन्टलभन्दा माथि प्रतिकिलो तीन अनुदान उपलब्ध गराउँदै आइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

उनका अनुसार पालिकाले गत वर्ष एक लाख ५० हजार उत्पादनको आधारमा कृषकलाई अनुदानबापतको रकम उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्