इलाम । विगतका वर्षहरूमा न्यून संख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले २० किलोमिटर फिक्कल-नयाँबजार सडक कालोपत्र गरेपछि आवतजावतमा सहज भएसँगै माईजोगमाईमा पर्यटक पुग्न थालेका हुन् ।
‘माइजोगमाई-२ तुम्लिङबाट यसअघिका वर्षहरूमा पनि कञ्चनजङ्घा हिमाल देखिने भए पनि पर्यटकको उपस्थिति कम थियो । तराईबाट कन्याम हुँदै इलाम आएका पर्यटकलाई तुम्लिङ पुग्न सहज सडक थिएन,’ गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, ‘कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिका-९ बरबोटेबाट माईजोगमाईको केन्द्र नयाँबजारसम्म कालोपत्रसहित सुविधासम्पन्न सडक निर्माण गरेपछि यहाँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ ।’
उनका अनुसार तीन हजार १०० मिटर उचाइमा रहेको तुम्लिङ पुगेपछि विश्वको तेस्रो अग्लो ८,५८६ मिटर कञ्चनजङ्घा हिमाल हेर्ने पर्यटकको घुइँचो लाग्न थालेको हो ।
‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ झापाबाट घुम्न आएका टीकाराम बाँस्तोलाले भने, ‘पहिले व्यवस्थित सडक नभएका समस्या थियो । मेची राजमार्गबाट एक घण्टामा अपुगिने रहेछ । यस क्षेत्रमा घुम्ने ठाउँ प्रशस्त छन् ।’
तुम्लिङका साथै नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल-भारत सीमामा पर्ने आकर्षक पर्यटकीयस्थल हुन् ।
हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान तथा अवलोकनका लागि नेपालसहित भारत, भुटान, बंगलादेशलगायत मुलुकबाट पर्यटक यहाँ आउने गरेका गाउँपालिका अध्यक्ष थेबेले जानकारी दिए ।
प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारबाट माईजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किमी सडक स्तरोन्नति र कालोपत्र गरेपछि यात्रा सहज भएकाले पर्यटक भित्रिने क्रम वृद्धि भएको उनले बताए ।
’सडक बनेपछि यात्रा गर्न सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधैँ नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतर्फ गर्नुभएको छ,’ उनले भने । जैविक विविधताले भरिएको माईजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवर्धनको काम सुरु गरेको अध्यक्ष थेबेले उल्लेख गरे ।
पर्यटकीयस्थललाई प्रवर्धन गर्न ‘टुरिज्म एप’ सञ्चालनमा ल्याइएको पालिकाका उपाध्यक्ष प्रवीना राईले जानकारी दिइन् । ‘एपमा यहाँका पर्यटकीयस्थल समेटेर सूचना राखिएका छन्,’ उनले भनिन्, ‘त्यसका साथै कृषि, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका विषयम पनि समावेश छन् ।’ देशविदेशमा बसेर पनि माईजोगमाईमा कहाँ-कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भन्ने उद्देश्यले एप सार्वजनिक गरिएको उनले उल्लेख गरिन् ।
थुम्केरानीबाट झुल्के घामका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारबाट थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन् । जंगल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँ थप आकर्षक बनेका छन् ।
विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु रेडपाण्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने नयाँबजारका पर्यटन व्यवसायी देवी अधिकारीले बताइन्। उनका अनुसार माईजोगमाई-२ र ६ को संगमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो ।
लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक सयौँको संख्यामा पर्यटक पुग्ने गरेका गाउँपालिका अध्यक्ष थेबेले जानकारी दिए । थुम्के र जौबारीमा गरिएको केसरखेतीले पर्यटकलाई तान्न थालेको छ । पालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको उनले बताए ।
पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल पनि छन् । पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी निर्माणाधीन रहेका थेबेको भनाइ छ । ‘भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन्,’ उनले भने ।
पाँच सय ६१ मिटरबाट तीन हजार १०० मिटरसम्मको उचाइमा माईजोगमाईको भूगोल पर्दछ । यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ ।
धान, अलैँची, आलु, किवी, केसर, चिराइतोलगायत खेतीका साथै उच्च हिमाली जडीबुटी पाइने भएकाले आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिकाका उपाध्यक्ष राईले बताइन् । उनका अनुसार यस क्षेत्रमा ऐतिहासिक जौबारी बजारसहित मुलुकको ठूलो आलु विकास केन्द्र पनि छ ।