बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज यूके’को आयोजना दोस्रो भजन महोत्सव आयोजना गरिएको छ । लन्डन, स्कटल्यान्ड, वेल्स, बर्मिङघम तथा उल्भरह्याम्टन लगायतका आठ स्थानमा बसोबास गर्ने नेपालीहरु सांस्कृतिक झाँकीसहितका टोली वेस्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएर महोत्सव आयोजना गरेका हुन् ।
‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाऊँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै टोलीले आ-आफ्नो भजन प्रस्तुत गरे । महोत्सव उद्घाटन गर्दै उल्भरह्याम्टन काउन्सिलका मेयर लिन्डा लिचले बेलायतमा जीवन बिताइरहेका नेपालीले आफ्नो संस्कृति संरक्षणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे ।
‘म नेपाली समाजले आफ्नो संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्छु र यस अभियान आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वस्त छु,’ उनले भने ।
महोत्सवमा यसपटक धेरै टोली सहभागी भएको र सहभागीको संख्या पनि बढेको छ । कार्यक्रम संयोजक नेपाली समाज वेस्टमिडल्यान्डस्का पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक शिव खरेलले नेपाली संस्कृति संरक्षणका लागि बेलायतमा रहेका नेपाली समुदाय सचेत बन्दै गएको बताए ।
महोत्सवमा ६ सयभन्दा बढीको सहभागिता थियो । ‘नेपाली समुदायमा नेपाली धर्म र संस्कृतिप्रतिको धारणा पुनः जागरण गराउन महोत्सव आयोजना गर्न थालिएको हो, यसमा हामी सफल भएका छौँ,’ उनले भने ।
साझा नेपाली समाज यूकेका अध्यक्ष दीपक सापकोटाले कार्यक्रमले नेपाली धर्म र संस्कृतिको संरक्षण र प्रचारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँ पुस्तालाई सनातन संस्कार र संस्कृति सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
नेपाली समाज वेस्टमिडल्यान्ड्सका अध्यक्ष भीम शर्माले कार्यक्रमले बेलायतमै जन्मिएका नेपाली पुस्तालाई आफ्नो संस्कृतिबारे जान्नका लागि यो ठूलो अवसर भएको बताए । महोत्सवमा सहभागी भजन मण्डलीले भजन प्रस्तुत गर्नुका साथै नेपाली कला, संस्कृति, वेषभूषा झल्किने नृत्य प्रस्तुत गरेका थिए । त्यस अवसरमा निःशुल्क रुपमा नेपाली खानाका परिकार उपलब्ध गराइएको थियो ।