काठमाडौं । आइएमई ग्रुपले नवलपुरको गैंडाकोट नगरपालिका-१, मौलाकालीमा इला होटल तथा रिसोर्ट निर्माण गरेको छ । भोलि सोमबार उद्घाटन भएपछि होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउने आइएमई ग्रुपले जनाएको छ ।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्विट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध छन् ।
केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणी लगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।
आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । यो होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।
लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।
त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउनेछन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।