काठमाडौं । रेमिट्यान्स आप्रवाह ९ महिनामा करिब १२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनदेखि चैतसम्ममा विप्रेषण आप्रवाह १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष १५.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर ११ खर्ब ७४ अर्ब ५४ करोड थियो ।
नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ पुगेको छ ।
गत वर्षको नौ अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख २७ हजार ८४२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ११ हजार २२६ थियो ।